मानव आवाज

२०८३ असार २१ गते
00: 00: 00
२०८३ असार २१ गते

काहुँडाँडामा रोट्र्याक्ट र लायन्स क्लबद्वारा वृक्षारोपण तथा सरसफाइ

पोखरा । रोट्र्याक्ट क्लब अफ पोखरा मिडटाउन र लायन्स क्लब अफ पोखरा ग्यालेक्सीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका–११ स्थित पर्यटकीय क्षेत्र काहुँडाँडामा शनिबार वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

“आज रोपिएको एउटा बिरुवाले भोलिको हराभरा, स्वच्छ र समृद्ध भविष्य निर्माण गर्छ” भन्ने नारासहित आयोजित कार्यक्रम जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्ने तथा हरित र दिगो भविष्य निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमअन्तर्गत काहुँडाँडामा ३५ ओटा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै बिरुवाको गोडमेल र क्षेत्रको सरसफाइसमेत गरिएको थियो। अभियानले स्थानीय समुदायमा वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ ।

कार्यक्रममा रोटर्याक्ट क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष इन्जिनियर नवीन चन्द्र थापाले वृक्षारोपणको दीर्घकालीन महत्व, वातावरण संरक्षणमा यसको सकारात्मक प्रभाव तथा हरियाली जोगाउन प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले बिरुवा रोपेर मात्र नहुने, त्यसको नियमित गोडमेल, संरक्षण र हेरचाह पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यसैगरी लायन्स क्लब अफ पोखरा ग्यालेक्सीका अध्यक्ष सुजन बाबु अधिकारीले रोपिएको प्रत्येक बिरुवा भावी पुस्ताप्रतिको उत्तरदायित्व र स्वच्छ वातावरण निर्माणतर्फको महत्वपूर्ण लगानी भएको धारणा व्यक्त गर्नुभयो ।

संयुक्त अभियानले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र दिगो विकासप्रति दुवै संस्थाको साझा प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाइएको छ ।

कार्यक्रममा दुवै क्लबका पदाधिकारी तथा सदस्य, स्वयम्सेवक, सहयोगी संस्था र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News