मानव आवाज

२०८३ असार २२ गते
00: 00: 00
२०८३ असार २२ गते

नैतिकता र आचरणले धेरै समस्या समाधान हुन्छ : प्रजिअ गुरुङ

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङले नैतिकता र आचरण मानवीय कार्यको आधार भएकाले नागरिकले नैतिक आचरण अपनाए धेरै समस्या स्वतः समाधान हुने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा २०८३ असार २२ गते लाहाचोकमा आयोजित ‘स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह’ सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ गुरुङले नागरिकता, शान्ति सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कानुनी स्पष्टता, प्रशासनिक संवेदनशीलता र नागरिक सचेतना आवश्यक रहेको बताउनुभयो ।

उहाँले नागरिकता व्यक्तिको मौलिक अधिकारसँग जोडिएको विषय भएकाले नागरिकताविहीन व्यक्तिहरू शिक्षा, स्वास्थ्य, बैंक खाता, जग्गाको स्वामित्व, राहदानी, मताधिकार तथा सरकारी सेवाजस्ता आधारभूत अवसरबाट वञ्चित हुने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो ।

नागरिकताको पहिलो प्रमाणपत्र नै आधिकारिक हुने र दोहोरो नागरिकता प्रमुख चुनौतीका रूपमा रहेको उहाँको भनाइ थियो ।

प्रजिअ गुरुङले नागरिकताको प्रक्रिया वडा तहबाट सुरु हुने भएकाले कानुनी अस्पष्टता वा कर्मचारीको संवेदनशीलताको कमीका कारण योग्य नागरिकसमेत नागरिकताबाट वञ्चित हुने अवस्था देखिएको उल्लेख गर्नुभयो ।

प्रजिअ गुरुङले नागरिकले गुनासो सुनाउनका लागि समय लिइरहनु नपर्ने बताउँदै नागरिकले गलत विवरण दिने प्रवृत्तिले पनि समस्या थपिएको भन्दै उहाँले सत्य तथ्यमा आधारित गुनासो सुनाउन र सेवा लिन आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले नागरिकताका लागि आवश्यक जन्मदर्ता तथा अन्य कागजात जुटाउन धेरै नागरिकले कठिनाइ भोगिरहेको बताउनुभयो ।

गरिबी, अशिक्षा र चेतनाको अभावका कारण अझै धेरै नागरिक नागरिकता प्राप्त गर्ने प्रक्रियाबाट बाहिर रहेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष गुरुङले लक्षित वर्गसम्म सूचना प्रभावकारी रूपमा नपुग्नु, गलत सूचना तीव्र रूपमा फैलिनु तथा घटनाबारे भ्रम सिर्जना हुनु चुनौतीका रूपमा रहेको भन्दै सकारात्मक सूचना प्रवाहमा सबै नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले कुनै पनि समस्या समाधानका लागि त्यसको वास्तविक कारण पहिचान गर्नु आवश्यक रहेको बताउनुभयो ।

समुदायको सहयोगबिना प्रहरीले मात्र अपराध नियन्त्रण गर्न नसक्ने भन्दै प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले प्रविधिको सही प्रयोग गर्न आग्रह गर्दै व्यवसाय सञ्चालन गर्दा कानुनी प्रक्रिया र उद्देश्यअनुसार सञ्चालन गर्नुपर्ने तथा कानुन उल्लङ्घन गर्ने कसैले पनि छुट नपाउने स्पष्ट पार्नुभयो ।

अन्तरक्रियामा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर-२ का अध्यक्ष गणेश आचार्य, वडा नम्बर-८ का अध्यक्ष रामबहादुर गुरुङ, वडा नम्बर-५ का अध्यक्ष नारायण पौडेल र वडा नम्बर-१ का अध्यक्ष इन्द्र गुरुङलगायतले नागरिकता प्रमाणपत्रको कागजको गुणस्तर, वडाबाट गरिने सिफारिसको कार्यान्वयन तथा सेवा प्रवाहका क्रममा देखिएका समस्या र सुझाव प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरूले कार्ययोजनाअनुसार समयमै काम नहुँदा अन्तिम समयमा हतार हुने र त्यसले कामको गुणस्तरमा असर पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सुरक्षा समितिका सदस्य, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी, सङ्घसंस्थाका प्रतिनिधि तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News