मानव आवाज

२०८३ असार २० गते
00: 00: 00
२०८३ असार २० गते

पोखरामा राष्ट्रिय कफी प्रदर्शनी सम्पन्न, २० हजारभन्दा बढीले गरे अवलोकन

पोखरा “चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्धन गरौँ” भन्ने नारासहित आयोजित नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कफी कपिङ च्याम्पियनसिप शनिबार पोखरा महानगरपालिका–५ मालेपाटनस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसरमा सम्पन्न भएको छ ।

नेपाल सरकारअन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा सम्पन्न प्रदर्शनीमा पोखरा महानगरपालिका तथा गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रवर्धन गरेका थिए ।

कार्यक्रममा ३० ओटा स्टल राखिएको थियो भने २० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ ।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश कफी उत्पादन र उपभोग दुवैका हिसाबले अग्रणी रहेको उल्लेख गर्दै उत्पादन, प्रशोधन, बजारीकरण र ब्रान्डिङमा समन्वय हुन सके नेपाली कफीलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्न सकिने बताउनुभयो ।

नेपाली कफीको विशिष्ट स्वाद र पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न सके देशको अर्थतन्त्र सुदृढ हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले प्रदेश सरकार कृषकहरूको साथमा रहेको बताउँदै बाँझो जमिन तथा बाँदरको क्षति बढी हुने क्षेत्रमा समेत कफी खेती विस्तार गर्न आग्रह गर्नुभयो ।

नेपाली कफीको गुणस्तरका कारण स्वदेशी र विदेशी बजारमा माग बढ्दै गएको उल्लेख गर्दै उहाँले दिगो उत्पादन प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कफी खेतीको व्यावसायिक विकासका लागि कृषकलाई बीउ तथा बिरुवामा अनुदान, बजारीकरणमा सहयोग र आवश्यक समन्वय गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले व्यवसाय प्रवर्धन केन्द्रमार्फत बरिस्टालगायत सीप विकासका तालिम सञ्चालन गरी कफी उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्ने काम भइरहेको बताउनुभयो ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कँडरियाका अनुसार पोखरामा वार्षिक करिब १५ टन कफी उत्पादन हुने गरेको छ ।

महानगरले कम्तीमा १ सय ओटा कफीका बिरुवा रोप्ने कृषकलाई प्रतिबोट ५० रुपियाँ प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमअन्तर्गत हालसम्म १० हजार बिरुवा रोपिएको र कफी प्याकेजिङमा समेत सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराका निमित्त प्रमुख चन्द्र पुरीले पोखरामा करिब १ हजार ५ सय कफी क्याफे तथा सप सञ्चालनमा रहेको बताउनुभयो ।

कफी खेती गर्न इच्छुक किसानका लागि प्रविधि हस्तान्तरण, अभिमुखीकरण र सचेतनामूलक कार्यक्रम नियमित सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कफी कपिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कफी उद्यमी तथा कृषकलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रदर्शनीमा कफी उत्पादन क्षेत्रमा क्रियाशील उद्यमी, कृषक, कृषि सहकारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । हाल पोखरा महानगरपालिकाभित्र करिब ४५ हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको जनाइएको छ ।

Author

Share the News

Recent News

Related News