नेपालगञ्ज । अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा अनिश्चितकालीन अनशनमा बस्नुभएको छ ।
बाँकेकी निर्मला कुर्मीको हत्या प्रकरणमा न्यायको माग गर्दै उहाँ छैंटौं पटक अनशनमा बस्नुभएको हो ।
निर्मला हत्या प्रकरणमा संलग्नमाथि कारबाहीको माग गर्दै आफूहरूले पटकपटक आवाज उठाए पनि सरकारले निरन्तर बेवास्ता गरेको रुबीको आरोप छ ।
उहाँका अनुसार २०८२ फागुन २१ गतेको निर्वाचनपछि मुद्दा अदालत लैजाने सहमति भए पनि त्यसको कार्यान्वयन नभएको कारण फेरि आन्दोलनमा उत्रिनुपरेको हो ।
पाँच पटक सहमति, कार्यान्वयन शून्य
रुबीका अनुसार सरकारले निर्मला कुर्मी हत्या प्रकरणमा पाँच पटकसम्म सहमति गरे पनि कुनै पनि सहमति कार्यान्वयन भएको छैन ।
मुद्दालाई अदालतसम्म पुर्याउने स्पष्ट इच्छाशक्ति नदेखिएको भन्दै उहाँले सरकारमाथि प्रश्न उठाउनुभएको छ ।
उहाँ २०८३ वैशाख १५ गतेदेखि ९ बुँदे मागसहित अनशनमा हुनुहुन्छ । उहाँका मुख्य मागमा कर्तव्य ज्यानसम्बन्धी निर्मला कुर्मी र गुडिया मुद्दा तत्काल अदालतमा लैजानुपर्ने, उपचार अभावमा मृत्यु भएका नाबालक दिपेश चमारको घटनामा थप तीन जनामाथि पूरक उजुरी दर्ता गरी निष्पक्ष अनुसन्धान गर्नुपर्ने लगायत रहेका छन् ।

सम्पत्तिको विवादसँग जोडिएको हत्या आरोप
नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्पुरकी निर्मला कुर्मीको २०७७ सालमा रहस्यमय मृत्यु भएको थियो । पीडित पक्षका अनुसार उहाँको परिवारमाथि योजनाबद्ध रूपमा आक्रमण हुँदै आएको थियो ।
निर्मलाका पति महलु कुर्मीको २०६२ सालमा मृत्यु भएपछि परिवारको करिब ५ बिघा जमिनमाथि भूमाफियाको नजर परेको दाबी गरिएको छ ।
त्यसपछि २०६६ मा उहाँका दुई छोरा रामसागर र सुरेशको १० दिनको अन्तरमा रहस्यमय मृत्यु भएको थियो ।
त्यसपछि निर्मलाले छिमेकी बादशाह कुर्मीले हिंसा गर्दै सम्पत्ति कब्जा गर्न खोजेको भन्दै महिला अधिकार मञ्चमा उजुरी दिनुभएको थियो ।
बादशाहले परिवारको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजात कब्जामा लिएको आरोप पनि लागेको थियो ।
उजुरीपछि दुर्व्यवहार र बेपत्ता
निर्मलाले प्रशासनसमक्ष आफ्ना कागजात फिर्ता गराइदिन माग गरेपछि आफूविरुद्ध उजुरी परेको थाहा पाएर बादशाह कुर्मीले २०६६ माघ २० गते सार्वजनिक स्थलमै दुर्व्यवहार गरेको आरोप छ ।
अपहरण शैलीमा घिसार्दै घरमा लगेर बन्धक बनाइएकी निर्मलाको भोलिपल्ट प्रहरीले उद्धार गरेको थियो । तर, त्यसबेला पनि आरोपितमाथि कारबाही नभएको पीडित पक्षको आरोप छ ।
पछि २०७५ माघ २५ गते राति निर्मला अचानक बेपत्ता हुनुभयो । दुई वर्षपछि मात्रै निर्मलाको मृत्यु भएको खबर सार्वजनिक भएको थियो ।
महिला अधिकार मञ्चले २०७७ चैत २० गते बादशाह कुर्मीले निर्मलालाई अपहरण गरी भारत लगेर हत्या गरेको दाबीसहित बाँके प्रहरीमा उजुरी दिएको थियो ।
तर, प्रहरीले अनुसन्धान प्रभावकारी रूपमा अघि नबढाएको भन्दै रुबी खान पाँच वर्षदेखि निरन्तर आन्दोलनमा हुनुहुन्छ ।
घटनाका आरोपित बादशाह कुर्मी बाँकेको निर्वाचन क्षेत्र नम्बर-३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्छ ।
‘आन्दोलनभित्रैबाट असहयोग’
रुबी खानले निर्मलाको न्यायका लागि चलिरहेको अभियानमा नेपालगञ्जका केही अधिकारकर्मीबाट समेत असहयोग भएको आरोप लगाउनुभएको छ ।
उहाँका अनुसार केही अधिकारकर्मी आरोपित कुर्मीसँग निकट बनेका कारण आन्दोलनका लागि तयारी गरिएका विषयका बारेमा आरोपितलाई सूचना दिने तथा आन्दोलन कमजोर पार्ने प्रयास अधिकारकर्मीबाटै भएको छ ।
त्यति सहयोग गरेबापत मानवअधिकार संस्थालाई प्रदेश सांसद कुर्मीले आर्थिक सहयोग गरेको बताउँदै रुवी खानले आवश्यक परे सोको प्रमाण उपलब्ध गराउनेसमेत बताउनुभएको छ ।
न्यायका लागि सडकदेखि अदालतसम्म सङ्घर्ष गरिरहँदा आफ्नै अभियानभित्रबाट विभाजन र दबाब सिर्जना गरिनु पीडादायी भएको उहाँले बताउनुभयो ।
५२० किलोमिटर पैदल यात्रा
निर्मलाको न्यायको माग गर्दै रुबी खानसहितका अधिकारकर्मी २०७८ असोज २० गते नेपालगञ्जदेखि काठमाडौंसम्म करिब ५२० किलोमिटर पैदल यात्रा गरेर राजधानी पुगेका थिए । त्यसबेला पनि उनीहरूले अनशनसहित आन्दोलन गरेका थिए ।
काठमाडौँस्थित माइतीघर मण्डलामा धर्नामा बसेका बाँकेका नन्कुन्नी धोवी र निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान तथा छानबिनको माग गर्दै नेपालगन्जबाट २० दिनको पैदलयात्रापछि काठमाडौँ आएका अधिकारकर्मी रुबी खानलाई प्रहरीले २०७८ असोज १२ गते माइतिघरमा धर्ना बसेकै बखत गिरफ्तार गरेको थियो ।
अधिवक्ता मोहना अन्सारीले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि २०७८ असोज २८ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुबीलाइ तत्काल रिहा गर्न र रिहापछि पुनः धरपकड नगर्न आदेश दिएको थियो ।
