पोखरा । पोखरा र पाकिस्तानबीच पर्यटन प्रवर्धन, व्यापारिक सम्बन्ध विस्तार, लगानीका अवसर सिर्जना तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले पोखरा चेम्बर अफ कमर्स, कास्कीले नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानसहितको टोलीलाई स्वागत तथा सम्मान गरेको छ ।
चेम्बरले २०८३ कात्तिक १७ गते राजदूत खान, उहाँसँगै आउनुभएका इकबाल हैदरलगायत पाकिस्तानी दूतावासका कर्मचारीहरूलाई स्वागत तथा सम्मान गरेको हो ।
पोखरा महानगरपालिका-५, मालेपाटनस्थित चेम्बर अफ कमर्सको सचिवालयमा आयोजित कार्यक्रममा राजदूत खानसहितको टोलीलाई पोखराको प्राकृतिक सौन्दर्य, पर्यटन, उद्योग तथा व्यापारिक सम्भावनाबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष उमराज बास्तोलाले अतिथिहरूलाई स्वागत गर्दै संस्थाका गतिविधि तथा उद्देश्यबारे जानकारी गराउनुभयो ।
उहाँले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता भेटघाट तथा अन्तरक्रियाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष बास्तोलाले पोखरा क्षेत्रको पर्यटन, उद्योग, व्यापार तथा लगानीका सम्भावनालाई उपयोग गर्न दुई देशबीच सहकार्य र व्यावसायिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले नेपाल र पाकिस्तानबीच पर्यटन, कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई थप सुमधुर बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
पोखरा र पाकिस्तानबीच उद्योग, व्यापार तथा पर्यटन विकासका सम्भावनाबारे चर्चा गर्दै उहाँले पोखराबाट पाकिस्तानको राजधानी इस्लामाबादसम्म सिधा हवाई उडान सञ्चालन गर्ने अवधारणालाई अगाडि बढाउन प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव गोकर्ण अधिकारीले गर्नुभएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष यमनाथ पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्य तथा सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।