पोखरा । फेवाताललगायत कास्की जिल्लाका तालहरूमा सञ्चालन हुने जलपर्यटनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले व्यवसायी तथा सेवाग्राहीलाई १५ बुँदे आचारसंहिता र सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले २०८३ कात्तिक १७ गते सूचना जारी गर्दै तालहरूमा सञ्चालन भइरहेका डुङ्गा, कायक तथा सर्फबोटलगायत जलपर्यटनसम्बन्धी व्यवसायलाई व्यवस्थित बनाउन नयाँ सुरक्षा मापदण्ड लागू गरेको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, सूचना अधिकारी तथा जिल्ला अनुगमन निरीक्षक रमेश घर्तीका अनुसार जलपर्यटन व्यवसायी, सरोकारवाला निकाय तथा सेवाग्राहीलाई लक्षित गरी १५ बुँदे आचारसंहितासहितका सुरक्षा नियम पालना गर्न निर्देशन दिइएको छ ।
प्रशासनले जारी गरेको सूचनामा तोकिएका मापदण्डविपरीत गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको सहायक प्रमुख जिल्ला अधिकारी घर्तीले जानकारी दिए ।
निर्देशनअनुसार जलपर्यटन व्यवसायीले सम्बन्धित निकायमा व्यवसाय दर्ता तथा नवीकरण गरेर मात्र सेवा सञ्चालन गर्नुपर्नेछ । लाइफ ज्याकेटबिना डुङ्गा, कायक तथा सर्फबोट सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
सेवा प्रदायकले सेवा दिनुअघि सेवाग्राहीलाई जलयान सञ्चालन गर्ने तरिका, सम्भावित जोखिम र त्यसको निराकरण, असुरक्षित क्षेत्र तथा अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउनुपर्नेछ ।
सेवाग्राहीको अवस्थाबारे निरन्तर निगरानी राख्नुका साथै कुनै समस्या आए तत्काल सहायता उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, व्यवसायी तथा सञ्चालकले धुम्रपान, मद्यपान र लागुपदार्थ सेवन गर्न पाउने छैनन् । मद्यपान वा लागुपदार्थ सेवन गरेको आशङ्का लागेका सेवाग्राहीलाई समेत सेवा दिन निषेध गरिएको छ ।
१६ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई अभिभावकबिना एक्लै कायक तथा सर्फबोट सञ्चालन गर्न अनुमति दिन पाइने छैन ।
मौसम सामान्य रहेको अवस्थामा पनि साँझ ५ बजेपछि डुङ्गा, कायक तथा सर्फबोट सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
हावाहुरी, चट्याङ वा वर्षा भइरहेको समयमा आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्नेछ । सेवा प्रदायकले सेवाग्राहीलाई अनिवार्य रूपमा बिलबिजक उपलब्ध गराउनुपर्ने र स्वीकृत बोटको सङ्ख्याका आधारमा कम्तीमा सोही सङ्ख्यामा सेवाग्राहीको बीमा गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।
कुनै पनि प्रकारको दुर्घटना भएमा सेवा प्रदायकले तत्काल उद्धार कार्य सुरु गरी सशस्त्र प्रहरी बल नेपालको उद्धार टोली वा सुरक्षा टावरमा खबर गर्नुपर्नेछ । साथै, घाइतेको सम्पूर्ण जिम्मेवारी लिई तत्काल नजिकको अस्पताल पुर्याउने र आवश्यक उपचारको व्यवस्था मिलाउनुपर्नेछ ।
ताल क्षेत्रको वातावरणीय सुन्दरता र स्वच्छता कायम राख्नुपर्ने विषयलाई पनि आचारसंहितामा समेटिएको छ । प्रशासनले जलपर्यटन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन व्यवसायी, सेवाग्राही तथा सम्बन्धित सबै निकायलाई तोकिएका नियम र सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
