पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घ अन्तर्गत सामाजिक विकास केन्द्रद्वारा, किडाशाको आर्थिक सहयोगमा सञ्चालित बालश्रम न्यूनीकरण परियोजना अन्तर्गत श्रम तथा जोखिम अवस्थामा रहेका बालबालिकाहरूका लागि लक्षित जीवनोपयोगी सिप तथा नेतृत्व विकास तालिम २०८२ चैत १० गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सङ्घका अध्यक्ष गोकर्ण कार्कीले प्रशिक्षकलाई शैक्षिक सामग्री प्रदान गर्दै गर्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य सङ्घ व्यवसायीहरूको हकहितमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व अन्तर्गत २०५६ सालदेखि बालबालिकाको क्षेत्रमा निरन्तर सक्रिय रहेको बताउनु भयो ।
उहाँले यस्ता तालिमहरूले बालबालिकामा सकारात्मक सोच, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भयो ।
कार्यक्रमकी विशेष अतिथि तथा महासचिव शोभा गौतमले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सङ्घका गतिविधि तथा सामाजिक योगदानबारे जानकारी दिनु भयो ।
उहाँले तालिमले सहभागी बालबालिकाहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा सङ्घका सहायक निर्देशक सुनिल क्षेत्री तथा नेशनल प्यासनका हेमन्त अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तालिममा प्रशिक्षक प्रेम नारायण पोखरेलले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जीवनोपयोगी सिप, प्रभावकारी सञ्चार, बोल्ने कला, सकारात्मक सोच तथा आत्मजागरणजस्ता विषयमा अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरिएको थियो ।
सङ्घका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा परियोजनाबारे जानकारी परियोजना निरीक्षक विजया अधिकारीले दिनुभएको थियो ।
तालिममा बालश्रम न्यूनीकरण परियोजनामा आबद्ध ३६ जना बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो ।