सुर्खेत । हुम्लाको चङ्खेली गाउँपालिका-५ स्थित नेप्का गाउँमा गएराति परेको असिनापानीसँगै आएको पहिरोले स्थानीय बस्तीमा क्षति पुर्याएको छ ।
पहिरोका कारण डाँफेस्थित आधारभूत विद्यालय भवन, गोठ तथा खेतीयोग्य जमिन प्रभावित भएका छन् ।
स्थानीयवासी छक्कबहादुर तामाङका अनुसार एक्कासी परेको असिनापानीपछि खसेको पहिरोले विद्यालय भवनमा क्षति पुर्याउनुका साथै खेतीयोग्य जग्गा पनि पुरिएको छ ।
चङ्खेली-५ का वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ समेत पहिरोले पुरेको बताइएको छ ।
गोठभित्र रहेका भेडाबाख्रामा पनि क्षति पुगेको आशङ्का गरिएको छ । यद्यपि क्षतिको यकिन विवरण अझै प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभएको समाचार छ ।
चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धार तथा क्षति मूल्याङ्कन कार्यमा चुनौती हुन सक्ने देखिएको छ ।