मानव आवाज

२०८३ भदौ २४ गते
00: 00: 00
२०८३ भदौ २४ गते

सहिदको तस्बिर मञ्चमुनि राखेर न्यायको कुरा गर्नु विडम्बना: रक्षा बम

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले जेनजी आन्दोलनका सहिद तथा घाइतेको आवाजलाई प्राथमिकता दिनुपर्ने समयमा उनीहरूकै नाममा आयोजित कार्यक्रममा सहिदहरूको अपमान भएको आरोप लगाउनुभएको छ ।

बमले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज सबैभन्दा धेरै सुनिनुपर्ने आवाज जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरू, आफ्ना सन्तान गुमाएका सहिद परिवारका सदस्यहरू तथा परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिएका युवाहरूको हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार आन्दोलनले उठाएका पारदर्शिता, जबाफदेहिता र सुशासनका मुद्दामाथि बहस हुनुका साथै आन्दोलनका क्रममा बिना कसुर थुनामा परेका जेनजी युवाहरूको रिहाइका लागि पनि आवाज उठाउनुपर्ने अवस्था थियो ।

तर, सहिदहरूको नाममा आयोजित कार्यक्रममा सहिदकै तस्बिरलाई मञ्चभन्दा तल राखिएको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ ।

“सहिदहरूको तस्बिरलाई पैतालाभन्दा तल, मञ्चको मुनि राखेर आफूहरू सहिदभन्दा माथि उभिए ।”-बमले लेख्नुभएको छ-“अनि मञ्चबाट घोषणा गरे-‘हामी सहिदलाई न्याय दिन्छौँ ।’ कस्तो अद्भुत न्याय ।”

बमले गृहमन्त्रीको विरोध गर्नेहरूलाई ‘आई लभ यू’को प्रायोजित नारा लगाउनकै लागि थुनिएको आरोपसमेत लगाउनुभएको छ ।

त्यसको विपरीत विभिन्न अपराधमा संलग्न धार्मिक अखडाका मठाधीशहरूको आवाजलाई कार्यक्रममा प्राथमिकता दिइएको उहाँको दाबी छ ।

चर्को स्वरमा भ्रष्टाचारको विरोध गर्नेहरूले सहिदको सम्मान गर्ने कार्यक्रममा नैतिक भ्रष्टाचार गरेको आरोप लगाउँदै बमले लेख्नुभएको छ-“चर्को स्वरमा भ्रष्टाचारको विरोध गर्नेहरूले आज सबैको सामु मञ्चबाटै नैतिक भ्रष्टाचार गरे ।”

उहाँले जेनजी आन्दोलनले उठाएका मुद्दालाई संस्थागत गर्ने, घाइते तथा सहिद परिवारको आवाज सुन्ने र आन्दोलनका क्रममा थुनामा परेका युवाको अवस्थाबारे गम्भीर बहस गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । (फोटोः रक्षा बमको फेसबुकबाट)

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार