रुद्रबहादुर खड्का, सिन्धुली ।
प्रहरी हिरासतमा रहेका एक दलित युवाको मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो ।
समितिमा प्रहरी प्रधान कार्यालय यूएन शाखाका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का इन्स्पेक्टर ईन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी तथा प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा सदस्य रहनुभएको छ ।
समितिलाई सात दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । अन्तरजातीय विवाहपछि पक्राउ परेर हिरासतमा राखिएका सुनकोशी गाउँपालिका-३ का श्रीकृष्ण विकको मृत्यु २०८३ वैशाख ७ गते भएको थियो ।
विकले खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको शौचालयमा सर्टको पासो लगाएर आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ । तर, मृतकका परिवारले उक्त दाबीप्रति शङ्का व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
