मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

स्वास्थ्य कार्यक्रम र प्रगतिबारे सिन्धुलीमा सञ्चारकर्मीसँग अन्तरक्रिया

रुद्रबहादुर खड्का, सिन्धुली

सिन्धुली जिल्लामा सञ्चालन भइरहेका स्वास्थ्य कार्यक्रम तथा तिनबाट हासिल भएका प्रगतिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त प्रमुख दीपकराज तिमल्सिनाले कार्यालयबाट प्रदान गरिँदै आएका सेवा, प्रमुख कार्यक्रम, उपलब्धि तथा चुनौतीबारे प्रस्तुतीकरण गर्नुभयो ।

उहाँले आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०८२/८३ मा ३१ हजार ४ सय ६५ जनाले सेवा लिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नागरिकलाई स्वस्थ र निरोगी बनाउन विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् ।

चिकित्सालयबाट दैनिक बहिरङ्ग सेवा, फिजियोथेरापी, पूर्वकर्म, अकुपञ्चरलगायतका सेवा प्रदान हुँदै आएका छन् ।

आयुर्वेदको महत्वबारे जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सञ्चारकर्मीहरूलाई सहयोगका लागि आग्रह गर्नुभयो ।

त्यस्तै, जिल्ला अस्पताल सिन्धुलीका निर्देशक शुसान्त कुमार खड्काले अस्पतालबाट प्रदान गरिँदै आएका सेवा, सुविधा, हालसम्मका उपलब्धि, प्रगति तथा सुधारका प्रयास, चुनौती तथा समस्या, आगामी योजना र रणनीतिबारे जानकारी दिनुभयो ।

उहाँले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि अस्पतालले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलले चालु आर्थिक वर्ष २०८२/८३ का मुख्य उपलब्धिहरू प्रस्तुत गर्दै कार्यालयले १ सय खानेपानी स्रोतको नमुना परीक्षण गरेको, ५ सय ६५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको तथा १ सय ७७ सवारी चालकको लागुपदार्थ सेवन परीक्षण गरिएको जानकारी दिनुभयो ।

उहाँले महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरूलाई सम्मान, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको विवरण केन्द्रीय प्रणालीमा अद्यावधिक, परिवार नियोजनअन्तर्गत स्थायी बन्ध्याकरण सेवा सञ्चालन तथा निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा २ हजार ८ सय ३७ जना किशोरीलाई एचपीभी खोप प्रदान गरिएको र सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ‘पाम्स भिटु’ सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइयो ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका समस्या, चुनौती तथा सुधारका आवश्यकताबारे पनि छलफल गरिएको थियो ।

सहभागीहरूले नागरिकलाई स्वस्थ राख्न तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सञ्चारकर्मीहरूले सचेतनामूलक सामग्री उत्पादन र पैरवीमा जोड दिनुपर्नेमा जोड दिएका थिए ।

Author

Related News