मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुद्रबहादुर खड्का, सिन्धुली ।

“हाम्रो अधिकार : सुशासन र विकासको आधार” भन्ने मूल नारासहित सूचनाको हकसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय सूचना आयोग र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा गरिएको हो ।

कार्यक्रममा आयुक्त दुर्गा भण्डारी पौडेलले सूचना प्राप्ति तथा प्रवाह प्रक्रियासम्बन्धी कानुनी प्रावधानहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँको प्रस्तुतीकरणले सूचना माग्ने र उपलब्ध गराउने प्रक्रियालाई थप स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण जानकारी प्रदान गरेको बताइएको छ ।

नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले तीनै तहका सरकारबिच पारदर्शिता, जबाफदेहिता र सुशासन प्रवर्धनमा सूचनाको हकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भयो ।

साथै, उहाँले अझै पनि पिछडिएका वर्गसम्म सूचनाको पहुँच पुग्न नसकेको उल्लेख गर्दै यस क्षेत्रको विस्तारका लागि सबै तहका पालिकामा प्रभावकारी पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका अध्यक्ष डा. सुरेशप्रसाद आचार्यले सहभागीहरूले उठाएका जिज्ञासा तथा समस्याहरूको स्पष्टिकरण गर्दै सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबिच सहकार्य आवश्यक रहेको औंल्याउनु भयो ।

उहाँले नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्नु नै सुशासन र दिगो विकासको आधार भएको बताउनु भयो ।

यस अन्तरक्रिया कार्यक्रमले स्थानीय तहमा सूचनाको हकसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयुक्त दुर्गा भण्डारी पौडेल, १४ ओटै वडाका वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, पत्रकार, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ  ।

Author

Related News