हेटौँडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा हेटौँडामा वातावरण र मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले बढ्दो सहरी जनसङ्ख्या र विकासका कारण प्लास्टिकजन्य फोहोर तथा नकुहिने कपडाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।
उहाँले हेटौँडा उपमहानगरपालिकालाई ‘जिरो वेस्ट पालिका’ घोषणा गर्ने अभियान सफल बनाउन व्यक्तिगत प्रतिबद्धता, सामूहिक अभियान र सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै नागरिकहरूलाई आआफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विश्वव्यापी तापक्रम वृद्धिका कारण स्थानीय स्तरमा देखिएका असर न्यूनीकरण तथा अनुकूलनका लागि स्थानीय तहले वातावरण निगरानी समूह गठन गर्नुपर्ने र प्रत्येक घरमा हरियो झण्डा अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भावी पुस्ताका लागि स्वच्छ वातावरण संरक्षण गर्ने जिम्मेवारी हरेक नागरिकको भएको भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका उपसचिव अच्युतप्रसाद उपाध्यायले वातावरण र मानव अधिकारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उहाँले मन्त्रालयका जिम्मेवारी, बजेट, वन तथा जलाधार संरक्षणसम्बन्धी कार्यक्रम, प्रदेशको अवस्था तथा मन्त्रालयले भोगिरहेका चुनौतीबारे जानकारी गराउनुभयो ।
इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले वातावरणीय अधिकारको वर्तमान अवस्था, वातावरणीय विनाशका प्रभाव, नागरिक समाज र राज्यबिचको सम्बन्ध तथा राज्यको जबाफदेहिताका विषयमा प्रकाश पार्दै कार्यक्रमको उद्देश्यसमेत स्पष्ट गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा मानव अधिकार रक्षक बागमती प्रदेश सञ्जालका सदस्य रुद्रबहादुर खड्काले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने र फोहोरको प्रभावकारी व्यवस्थापन भएमा मात्र स्वच्छ वातावरण कायम रहने बताउनुभयो ।
उहाँले जलवायु न्याय र मानवअधिकारका क्षेत्रमा तीनै तहका सरकारले नागरिक समाजसँगको साझेदारीमा कार्यक्रमहरू गर्नुपर्ने बताउनुभयो ।
इन्सेकका प्रलेख अधिकृत बरुण बस्यालले संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले प्रदत्त गरेका अधिकारहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयासहरु, संरचनाहरु र जलवायु सङ्कट तथा वातावरणीय विनाशबाट सिर्जित जोखिमहरुका बारेमा सहजीकरण गर्नुभएको थियो ।