मकवानपुर । बागमती गाउँपालिका र इन्सेक बागमती प्रदेशको संयुक्त आयोजना, राष्ट्रिय मानवअधिकार आयोगको सहकार्य तथा स्वाधीन खबरपत्रिका सिन्धुलीको समन्वयमा बागमती गाउँपालिकामा स्थानीय तह र मानवअधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले समाजमा हुने विभिन्न घटनाहरू मानवअधिकार शिक्षाको अभावका कारण हुने गरेको बताउनुभयो ।
उहाँले नेपाल अझै आर्थिक रूपमा कमजोर राष्ट्र भएकाले नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार व्यवहारमा कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।
“कानुनले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्वयन गर्न सहज छैन । आजको यस महत्वपूर्ण प्रशिक्षणबाट सहभागीहरूले प्राप्त ज्ञान गाउँगाउँसम्म पुर्याई मानवअधिकार संरक्षणमा मेरुदण्डको भूमिका खेल्नेछन् भन्ने अपेक्षा गरेको छु ।”-अध्यक्ष घलानले भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गर्दा मानवअधिकारलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
उहाँले अधिकारसँगै कर्तव्यको पालनामा समेत जोड दिनुपर्ने उल्लेख गर्दै मानवअधिकारको संरक्षण र प्रवर्द्धन सबैको साझा जिम्मेवारी भएको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले शान्ति र सुरक्षा नै मानवअधिकारको आधार भएको बताउनुभयो ।
“मानव अधिकार कसैको कृपा वा दया होइन, यो जन्मसिद्ध अधिकार हो ।”-उहाँले भन्नुभयो ।
उहाँले विगतमा राज्य र तत्कालीन नेकपा (माओवादी) बिचको द्वन्द्वकालमा राष्ट्रिय मानवअधिकार आयोगले खेलेको भूमिकाको चर्चा गर्दै वर्तमान समयमा विकास, समृद्धि, रोजगारी, स्वच्छ वातावरण तथा प्राविधिक शिक्षामा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले स्थानीय तहहरूले विकास योजना तर्जुमा गर्दा मानवअधिकारमैत्री विकास पद्धति अवलम्बन गर्न सके मानवअधिकारको संरक्षण र प्रवर्माध महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मानवअधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाका मानवअधिकार अधिकृत कृष्णप्रसाद मिश्रले स्थानीय न्यायिक समितिको भूमिकाबारे प्रस्तुति दिँदै स्थानीय स्तरमा हुने झैझगडा, बाँधविवाद तथा अन्य मतभेदका विषय संवाद र मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी न्यायिक समिति तथा मेलमिलापकर्ताको भएको बताउनुभयो ।
स्वाधीन खबरपत्रिकाका प्रधान सम्पादक रुद्रबहादुर खड्काले कार्यक्रमको उद्देश्य मानवअधिकार संरक्षण र प्रवर्धन रहेको बताउँदै गाउँपालिकाले गरिब, महिला, दलित, आदिवासी जनजाति तथा पिछडिएको वर्गको उत्थानका लागि बजेट विनियोजन गरी मानवअधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर ४ का मेलमिलापकर्ता बाबुराम लामाले कार्यक्रमबाट मेलमिलाप प्रक्रियाबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी शिक्षकशिक्षिकाहरूले मानवअधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यालयको पाठ्यक्रममै मानवअधिकारसम्बन्धी विषय समावेश गर्नुपर्नेमा जोड दिएका थिए ।