रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकामा मोतिविन्दुका बिरामीहरूका लागि सञ्चालन गरिएको दुई दिने निःशुल्क शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
मरिण गाउँपालिका र नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान, गौशाला काठमाडौंको संयुक्त आयोजनामा चैत १४ र १५ गते शिविर सञ्चालन गरिएको हो ।
मरिण गाउँपालिका-६ छापस्थित मरिण आधारभूत अस्पताल (कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्र) मा सञ्चालन गरिएको शिविरमा स्क्रिनिङ जाँच गरिएका १ सय ३४ जना बिरामीमध्ये ८७ जनाको सफल शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले जानकारी दिनु भयो । शल्यक्रिया गरिएका बिरामीमध्ये ४१ पुरुष र ४६ महिला रहेका छन् ।
अध्यक्ष मुक्तानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संस्थाप्रति धन्यवाद व्यक्त गर्दै यस्ता नागरिकमैत्री स्वास्थ्य सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनु भयो ।
उहाँले विशेषगरी विपन्न वर्गका नागरिकका लागि यस्ता सेवा अत्यन्त उपयोगी रहेको उल्लेख गर्दै आगामी वर्षमा समेत बजेट विनियोजन गरी स्वास्थ्य सेवामा पहुँचबाट वञ्चित समुदायलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाउनु भयो ।
समापन कार्यक्रममा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र विशेषज्ञ डा. प्रतिभा लामा जोशी, वडा अध्यक्ष हर्कवीर माझी, कार्यपालिका सदस्यहरू, डा. अनिल त्याठा, डा. महेशकुमार श्रेष्ठ, शिविर व्यवस्थापक भोजराज पोखरेल, कार्यक्रम अधिकृत निर्जना धोजु लगायत स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।
ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा अभावका बीच यस्ता शिविरहरूले स्थानीयवासीलाई सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउँदै जनस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।