रुद्रबहादुर खड्का, सिन्धुली ।
जिल्लामा पहिलो पटक हरियो घाँसबाट पशु आहार (साइलेज) उत्पादन गर्ने प्लान्ट सञ्चालनमा आएको छ ।
कमलामाई नगरपालिका वडा नं. १ मा स्थापना गरिएको उक्त साइलेज प्लान्ट २०८२ चैत १५ गतेबाट औपचारिक रूपमा सुरु गरिएको हो ।
कमलामाई नगरपालिका र हेफर इन्टरनेशनल नेपालको लागत साझेदारीमा निर्माण गरिएको प्लान्ट ३७ लाख रुपियाँको लागतमा तयार भएको हो ।
परियोजनाअन्तर्गत कमलामाई नगरपालिका वडा नं. ४ मा रहेका होलिस्टिन प्रजातिका गाई पालकहरूको सहकारी-कमलामाई सामाजिक उद्यमी दुग्ध सहकारी संस्था लिमिटेडद्वारा प्लान्ट सञ्चालन गरिनेछ ।
प्लान्टको उद्घाटन कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै उहाँले साइलेज प्लान्ट स्थापना हुनु स्थानीय किसानका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो ।
उहाँका अनुसार यसले पशुपालन व्यवसायलाई दिगो, व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुर्याउनेछ ।
नगरपालिकाका पशु विकास शाखा प्रमुख डा. रोशन कोइरालाका अनुसार प्लान्ट विशेषगरी सुख्खा समयमा गाईलाई पौष्टिक आहार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको हो ।
उहाँले नगरपालिकाबाट ६ लाख ५० हजार, हेफर इन्टरनेशनलबाट ८ लाख ५० हजार र थप २२ लाख बराबरको मेसिन सहयोगसहित कुल ३७ लाख रुपियाँ लगानी भएको जानकारी दिनु भयो ।
साइलेज प्लान्ट सञ्चालनमा आएपछि गाईलाई पोषिलो आहार उपलब्ध गराउन, दाना खर्च घटाउन र लामो समयसम्म आहार सुरक्षित राख्न सहज हुने अपेक्षा गरिएको छ ।

नगर प्रमुख पोखरेलले यसले स्थानीय उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा किसानको आम्दानी अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले उक्त प्लान्ट सिन्धुली जिल्लाकै पहिलो साइलेज उत्पादन केन्द्र भएको उल्लेख गर्दै यसलाई जिल्लाभरिका कृषकका लागि नमूना परियोजनाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कमलामाई नगरपालिका वडा नं. १ का अध्यक्ष नरेश गोलेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सिड्स नेपालका अध्यक्ष दीपक घिमिरे, हेफर इन्टरनेशनलको मिल्की वे परियोजनाका प्रबन्धक डा. नारायण शर्मा, पशु विकास शाखा प्रमुख डा. रोशन कोइराला, कमलामाई सामाजिक उद्यमी दुग्ध सहकारी संस्थाका अध्यक्ष गुणकुमारी घिमिरेलगायत सहकारीका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।