काठमाडौँ । नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चारमाध्यमको कार्यालयको मूल गेटमै शङ्कास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा २०८३ असार २९ गते जारी विज्ञप्तिअनुसार असार २९ गते बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर तथा मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शङ्कास्पद रूपमा गाडी पार्किङ गरिएको पाइएको हो ।
यसका कारण त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्मका लागि आवतजावत गर्न समस्या हुनुका साथै त्रासको वातावरण सिर्जना भएको महासङ्घले जनाएको छ ।
महासङ्घले सम्बन्धित निकायसँग तत्काल ती गाडी हटाई सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गरेको छ ।
यस्तै, सञ्चारमाध्यम र पत्रकारले स्वतन्त्र रूपमा आफ्नो पेशागत अधिकार प्रयोग गर्न अवरोध पुर्याउने यस घटनालाई निन्दनीय र रहस्यमय भन्दै महासङ्घले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।
महासङ्घले अवरोध हटाउन सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको जानकारीसमेत दिएको छ ।
