मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासङ्घको आरोप

काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति तथा काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारविपरीत नीति अवलम्बन गरेको आरोप लगाउँदै २०८३ साउन ९ गते काठमाडौँको माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

बिहीबार जारी संयुक्त विज्ञप्तिमा आम निर्वाचनपछि गठन भएको वर्तमान सरकारले प्रेस स्वतन्त्रताको संवैधानिक मर्मअनुसार सञ्चार क्षेत्रमैत्री नीति ल्याउने अपेक्षा गरिए पनि व्यवहारमा प्रेसमाथि दबाब, अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन तथा सञ्चारगृहमाथि लक्षित गतिविधि बढेको उल्लेख गरिएको छ ।

महासङ्घले यस्ता गतिविधिका कारण नेपाली सञ्चार क्षेत्र डरलाग्दो स्वनियन्त्रण (सेल्फ–सेन्सरशिप) को अवस्थातर्फ धकेलिएको दाबी गरेको छ ।

महासंघले समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चार माध्यमको संरक्षण, लोककल्याणकारी विज्ञापन व्यवस्थाको समयानुकूल सुधार, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चार क्षेत्रसँग सम्बन्धित आवश्यक संरचनाको गठन तथा पत्रकारको बीमा र सामाजिक सुरक्षाजस्ता मागप्रति सरकारले अपेक्षित चासो नदेखाएको जनाएको छ ।

विज्ञप्तिमा निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतको आदेशबाट हटाइएको निर्णयको स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनप्रति भने आशङ्का व्यक्त गरिएको छ ।

महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारले प्रेसविरोधी नीतिहरू तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ ।

साथै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय मान्यता र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ ।

२०८३ साउन ७ गते जारी गरिएको संयुक्त विज्ञप्तिमा उपत्यका प्रदेश समितिकी कार्यवाहक अध्यक्ष रोजिना थापा (कार्की), काठमाडौँ शाखाकी अध्यक्ष शोभा अर्याल, ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की र भक्तपुर शाखाका अध्यक्ष सुन्दर सिल्पकारले हस्ताक्षर गर्नुभएको छ ।

Author

Share the News

Recent News

Related News