मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

मूल्यवृद्धि र सामग्री अभावले निर्माण क्षेत्र सङ्कटमा, ‘आपतकाल घोषणा’को माग

रुद्रबहादुर खड्का, सिन्धुली ।

निर्माण व्यवसायी सङ्घ सिन्धुलीले इन्धनजन्य पदार्थको निरन्तर मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण देशभर निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै ‘निर्माण क्षेत्रमा आपतकाल घोषणा’ गर्न सरकारसँग माग गरेको छ ।

सङ्घका अध्यक्ष उद्धवप्रसाद दाहालले चैत २८ गते जारी प्रेस विज्ञप्तिमार्फत मध्यपूर्वमा जारी द्वन्द्वका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनमा भइरहेको अप्रत्याशित मूल्यवृद्धिले निर्माण गतिविधि गम्भीर सङ्कटमा परेको बताउनु भएको छ ।  

उहाँका अनुसार इन्धनसँगै बिटुमिन, सिमेन्ट र डण्डीजस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्नुका साथै बजारमा अभाव देखिँदा निर्माण कार्य प्रभावित भएको छ ।

“निर्माणको मुख्य सिजनमै इन्धन र सामग्रीको मूल्य असामान्य रूपमा बढेको छ, बजारमा आवश्यक सामग्री पाइँदैन,” अध्यक्ष दाहालले भन्नुभयो, “यसले निर्माण उद्योग पूर्ण रूपमा ठप्प हुने अवस्था सिर्जना गरेको छ। बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकारले समस्या समाधानतर्फ ठोस पहल गरेको छैन ।”

सङ्घका अनुसार देशका विभिन्न स्थानमा क्रसर उद्योगमा देखिएका समस्याले निर्माण क्षेत्र थप प्रभावित बनेको छ ।

निर्माणसँग प्रत्यक्ष जोडिएका आयोजनाहरू रोकिँदै गएका छन् भने व्यवसायीहरू आर्थिक रूपमा संकटमा पर्दै गएका छन् ।

अध्यक्ष दाहालले हालको मूल्य समायोजन प्रणालीसमेत व्यवहारिक नभएको बताएका छन् । “बजारमा मूल्य आकासिँदा राष्ट्र बैङ्कको सूचकाङ्कले घटेको देखाउँछ, जसका कारण ठेक्का सञ्चालन गर्ने व्यवसायीहरू झन् मारमा परेका छन्,” उहाँले भन्नुभयो ।

सङ्घले निर्माणको मुख्य सिजनमै लागत अत्यधिक बढ्दा व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको जनाउँदै तत्काल राहत प्याकेज ल्याउन माग गरेको छ ।

‘मूल्य समायोजन मार्गदर्शिका-२’ तुरुन्त जारी गर्न र सबै अवधिका ठेक्कामा मूल्य समायोजनको व्यवस्था लागू गर्न पनि आग्रह गरिएको छ ।

“निर्माण क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको सम्वेदनशील क्षेत्र हो,” दाहालले भन्नुभयो, “सरकारले तत्काल हस्तक्षेप गरी निर्माण उद्योगमा आपतकाल घोषणा गरेर व्यवसायीलाई राहत नदिए निर्माण क्षेत्र पूर्ण रूपमा ठप्प हुने खतरा छ ।”

निर्माण व्यवसायीहरूले मूल्यवृद्धि र आपूर्ति अभावका कारण साना तथा ठूला सबै खालका व्यवसायीहरू सङ्कटमा परेको उल्लेख गर्दै सरकारले शीघ्र हस्तक्षेप नगरे गम्भीर आर्थिक असर पर्ने चेतावनी दिएका छन् ।

बढ्दो मूल्य र सामग्री अभावका कारण निर्माण क्षेत्र अप्ठ्यारो अवस्थामा पुगेको भन्दै समयमै समाधानतर्फ कदम नचालिए धेरै आयोजना रोकिँदै जाने र यसले समग्र विकास प्रक्रियामा असर पार्ने खतरा रहेको सङ्घले जनाएको छ ।

Author

Related News