मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

सिन्धुलीमा सिँचाइका खुद्रे योजना कार्यान्वयनमा चुनौती

रुद्रबहादुर खड्का, सिन्धुली ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा चालु आर्थिक वर्ष ०८२/०८३ मा सिन्धुलीमा सिँचाइ क्षेत्रका उल्लेखनीय योजना अघि बढाइए पनि खुद्रे योजनाको अधिकताले कार्यान्वयनमा चुनौती देखिएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुली का अनुसार स्वीकृत १ सय ९० सिँचाइ योजनामध्ये १ सय ७५ योजना सम्झौता भई कार्यान्वयनको चरणमा पुगेका छन् ।

दुई ओटा योजना ठेक्का प्रक्रियाबाट अघि बढाइएका छन् भने बाँकी अधिकांश योजना स्थानीय उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेका छन् ।

अझै १५ ओटा योजना सम्झौता हुन बाँकी रहेका छन् । कतिपय योजनाको स्थान स्पष्ट नहुँदा तथा न्यून लागतका कारण अधुरो रहने जोखिम देखिएकाले सम्झौता प्रक्रिया रोकिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित वडाबाट पर्याप्त जानकारी नआउनु र उपभोक्ताहरू सम्पर्कमा नआउनु समेत समस्याको कारण बनेको छ ।

यस आर्थिक वर्षमा स्वीकृत योजनामध्ये अधिकांश साना (खुद्रे) प्रकृतिका छन् । ९ लाख रुपियाँसम्मका ११ ओटा र ९ लाख रुपियाँका १ सय ३ ओटा गरी कुल १ सय १४ ओटा योजना साना रहेका छन् ।

यस्ता योजनाको सङ्ख्या धेरै हुँदा सीमित जनशक्ति र समय व्यवस्थापन चुनौतीपूर्ण बनेको कर्मचारीहरूको भनाइ छ ।

त्यसैगरी १० देखि २० लाख रुपियाँसम्मका ५४ योजना र २० लाख रुपियाँभन्दा माथिका २२ योजना सञ्चालनमा छन् ।

यी सबै योजना कार्यान्वयनका लागि प्रदेश सरकारले कुल २२ करोड २३ लाख ६० हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

गत आर्थिक वर्ष (०८१/०८२) मा सम्पन्न १ सय ९५ योजनाबाट ३,०७५.५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको थियो, जसले यस वर्षको लक्ष्यलाई अझ महत्वाकांक्षी बनाएको छ ।

यसैबिच, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेमा निर्माणाधीन मरिणखोला लिफ्ट सिँचाइ योजना स्थानीयका लागि आशाको केन्द्र बनेको छ ।

उक्त योजनामार्फत बागमती नदीको पानी करिब २० मिटर माथि तानेर सिँचाइ सुविधा विस्तार गरिँदैछ ।

स्थानीयका अनुसार योजना सम्पन्न भएपछि चैनपुर, झनझने, श्रीपुर र चौरीटोल क्षेत्रका तीन सय विघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

करिब ४ करोड रुपियाँ लागतको यो बहुवर्षीय योजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

लिफ्ट सिँचाइ योजना निर्माणसँगै किसानहरूमा उत्साह बढेको छ । वर्षौँदेखि आकाशे पानीमा निर्भर किसानहरू अब नियमित सिँचाइ सुविधाको अपेक्षामा रहेका छन् ।

Author

Related News