मानव आवाज

२०८३ बैशाख १५ गते
00: 00: 00
२०८३ बैशाख १५ गते

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोक । वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग २०८३ वैशाख १४ गतेदेखि पुनः सञ्चालनमा आएको छ ।

रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी आवागमन सुचारु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

वैशाख १३ गते दिनभर डाइभर्सन निर्माणको काम भए पनि वर्षाले केही स्थानमा पुनः क्षति पुर्‍याएपछि वैशाख १३ कै साँझ आवागमन सञ्चालन गर्न नसकिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार पुनः डाइभर्सन निर्माण गरी आवागमन नियमित बनाइएको हो ।

वर्षाले राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा करिब चार किलोमिटर क्षेत्रमा बनाइएको डाइभर्सन बगाएको थियो ।

कार्यालयका अनुसार उक्त क्षेत्रमा आठ स्थानमा डाइभर्सन निर्माण गरी सवारी आवागमन सञ्चालन गरिएको छ ।

वैशाख १३ गते सात स्थानमा डाइभर्सन बनाएपछि ‘चारसय बेंशी’ क्षेत्रमा निर्माणका क्रममा वर्षा भएपछि थप काम रोकिएको थियो ।

वैशाख १२ गते दिउँसो वर्षा सुरु भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित सुरक्षा निकायले अपराह्न ३:३० बजेदेखि राजमार्गमा आवागमन बन्द गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुन्जेदेखि रोशीको मङ्गलटार सडकखण्डसम्म रोशी खोलामा ठूलो बाढी आएकाले राजमार्ग बन्द गराएको जनाएको छ ।

गत चैतको तेस्रो साता पनि सोही क्षेत्रमा विभिन्न स्थानमा करिब चार किलोमिटर सडक बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक क्षति पुर्‍याएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन सञ्चालन हुँदै आएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा ‘होल्ड’ गरिएको थियो ।

केही साना सवारीसाधनलाई तेमाल गाउँपालिका हुँदै वैकल्पिक मार्ग प्रयोग गरी नमोबुद्ध नगरको भकुण्डेसम्म ल्याइएको थियो ।

Author

Share the News

Recent News

Related News