भैरहवा । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समिति अन्तर्गत गठित बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन उपसमितिले भैरहवास्थित बाल सुधार गृहको निरीक्षण गर्दा क्षमता भन्दा बढी बालक राखिएको पाइएको छ ।
उपसमिति संयोजक सांसद नीनुकुमारी कर्णसहित सदस्यहरू खिमा विक, भूमिका श्रेष्ठ र साजिदा खातुन सिद्धिकीले २०८३ असार ३ गते बाल सुधार गृहको स्थलगत अनुगमन गर्नुभएको हो ।
अनुगमनपछि सांसद साजिदा खातुन सिद्धिकीले सुधार गृहमा अत्यधिक भीडभाड रहेको र त्यसले बालबालिकाको मानसिक तथा सामाजिक विकासमा नकारात्मक असर पार्न सक्ने बताउनुभयो ।
उहाँका अनुसार लामो समयसम्म सीमित र साँघुरो कोठामा बस्न बाध्य हुँदा बालकहरूको मनोविज्ञान प्रभावित हुने जोखिम बढेको छ ।
सांसद सिद्धिकीले बालबालिकाले संविधान र कानुनले सुनिश्चित गरेका अधिकार व्यवहारमै प्राप्त गर्नुपर्ने बताउँदै बाल सुधार गृहको व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै राजनीतिक दल, प्रहरी प्रशासन तथा नागरिक समाजको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो ।
निरीक्षणमा सहभागी सिद्धार्थनगर नगरपालिकाकी प्रमुख उमा अधिकारीले पनि भैरहवा बाल सुधार गृहको स्थानान्तरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सुधार गृहको भौतिक तथा व्यवस्थापकीय सुधार अपरिहार्य रहेको बताउनुभयो ।
वि.सं. २०७५ मा स्थापना भएको भैरहवा बाल सुधार गृहमा हाल १ सय ११ जना बालक रहेका छन् । निरीक्षण टोलीले सुधार गृहको क्षमता, बसोबास, सुरक्षा, स्वास्थ्य तथा बाल अधिकारको समग्र अवस्थाबारे जानकारी लिएको थियो ।
मानवअधिकारसम्बन्धी संसदीय उपसमितिको निरीक्षणपछि बाल सुधार गृहको भीडभाड र व्यवस्थापनको विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको छ ।