रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका-३, खोलगाउँमा नवनिर्मित फिक्कल आधारभूत अस्पतालको २०८२ साल चैत २२ गते एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
फिक्कल गाउँपालिकाको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले अस्पतालको औपचारिक उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले राज्यको प्राथमिकता नै नागरिकलाई नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु भएको उल्लेख गर्दै नयाँ अस्पतालले स्थानीयवासीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै, सिन्धुली जिल्लाका स्वास्थ्य संस्थाहरूको सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
गरिब तथा पछाडि परेका वर्गलाई सहज रूपमा सेवा उपलब्ध गराउन आगामी वर्षमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम कार्यान्वयन गरिने उहाँको भनाइ थियो ।
देशमा देखिएका बेथिति र भ्रष्टाचार अन्त्यका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शान्ति, सुशासन र समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले फिक्कल गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो ।
साथै, तीनै तहका सरकारको सहकार्यमा अस्पताललाई आगामी दिनमा थप सेवा र सुविधासहित सुदृढ बनाउने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर राजन मगर, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, निर्वाचित जनप्रतिनिधिहरू, पत्रकार, शिक्षकशिक्षिका तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।