मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

सिन्धुलीमा पूँजीगत योजनाको वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरू

रुद्रबहादुर खड्का, सिन्धुली |

सिन्धुली जिल्ला समन्वय समितिको आयोजनामा २०८२ साउन २६ गतेदेखि पूँजीगत योजनाहरूको वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरू भएको छ ।

दुई दिनसम्म चल्ने यो कार्यक्रममा जिल्लाका नौ ओटै स्थानीय तह, प्रदेश तथा सङ्घीय कार्यालयहरू र विभिन्न सङ्घ–संस्थाहरूले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रमहरूको मूल्याङ्कन गरिँदैछ।

जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले नौ ओटै स्थानीय तहका गतिविधि, योजनाको प्रगति र प्रदेश–सङ्घीय निकायका उपलब्धिहरू प्रस्तुत भइरहेको जानकारी दिनुभयो।

जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले वार्षिक समीक्षा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै विगतमा स्थानीय तहहरूको पूँजीगत खर्च न्यून रहेको तथ्य औँल्याउनु भयो ।

उहाँले आगामी वर्षहरूमा विकास–निर्माणसँग सम्बन्धित खर्च पारदर्शी रूपमा सञ्चालन गरी वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो।

प्रतिनिधिसभा सदस्य सुशिला थिङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाका सात ओटा स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरू सहभागी छन् । तर, स्थानीय तहका जनप्रतिनिधिको न्यून उपस्थिति रहेकोमा प्रमुख अतिथि थिङले असन्तुष्टि जनाउनु भयो ।

सङ्घीयता कार्यान्वयनको क्रममा वर्षमा दुईपटक यस्ता समीक्षा कार्यक्रमहरू अझ प्रभावकारी ढङ्गले आयोजना गर्नुपर्ने, सरोकारवालाको सक्रिय सहभागिता र प्रस्तुतिहरूमा गुणस्तर सुनिश्चित गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।

थिङले राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको कार्यप्रगति ढिलासुस्तीपूर्ण रहेको भन्दै आयोजनाका प्रमुखलाई सचेत गराउनु भयो ।

यस वार्षिक समीक्षाबाट सिन्धुलीको आगामी विकास योजनाहरू अझ लक्षित र परिणाममुखी हुने अपेक्षा गरिएको छ।

Author

Share the News

Related News