ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-१४ स्थित फूल्चोकी माध्यमिक विद्यालयमा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
शिक्षा विकास निर्देशनालय हेटौँडाको सहयोगमा विद्यालयले शिक्षकहरूको क्षमता विकास गर्ने उद्देश्यसहित उक्त तालिम आयोजना गरेको हो ।
बदलिँदो विज्ञान तथा प्रविधिको युगअनुसार कक्षाकोठालाई थप प्रभावकारी बनाउँदै शिक्षकहरूलाई प्रविधिमैत्री बनाउन तालिम सञ्चालन गरिएको शैक्षिक योजना संयोजक नवराज सञ्जेलले जानकारी दिनु भयो ।
कार्यक्रममा गुगल एजुकेसनका प्रमाणित प्रशिक्षक सगुन ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो । उहाँले एआईको प्रयोगमार्फत शिक्षणलाई आधुनिक, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन सकिने विषयमा प्रशिक्षण दिनु भयो ।
विद्यालयका प्रधानाध्यापक गोपालकुमार पाण्डेले विद्यालयले आगामी शैक्षिक सत्र २०८३ का लागि पूर्व शैक्षिक योजना तयार गरिसकेको र प्रविधिसम्बन्धी तालिमपछि अब अभिभावक शिक्षालाई प्राथमिकतामा राखिने जानकारी दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य सुधन श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान कक्षाकोठामा व्यवहारिक रूपमा प्रयोग हुनुपर्नेमा जोड दिनु भयो ।