काठमाडौं । राष्ट्रियसभाका रिक्त १९ सिटमध्ये बाँकी १७ सिटका लागि २०८२ माघ ११ गते मतदान हुने भएको छ ।
फागुन २० गतेदेखि कार्यकाल सकिने १९ सिटमध्ये कोशी प्रदेशको खसआर्य समूहअन्तर्गत एक सिटमा कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित भइसक्नु भएको छ भने एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।
निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सात ओटै प्रदेशका तोकिएका मतदान केन्द्रमा मतदान हुनेछ ।
आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । यस निर्वाचनमा कुल ४४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । मतभार फरक–फरक तोकिएको छ ।
आयोगका अनुसार स्थानीय तहका पदाधिकारीको एक मत बराबर १९ मतभार र प्रदेशसभा सदस्यको एक मत बराबर ५३ मतभार रहनेछ ।
यस निर्वाचनमा कांग्रेस र एमालेबिच नौ–आठ सिट बाँडफाँट गर्ने सहमति अनुसार गठबन्धन बनेको छ ।
एक सिट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार महन्थ ठाकुरका लागि छुट्याइएको छ । नेकपा भने एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
मतभारका हिसाबले कांग्रेसको २१ हजारभन्दा बढी, एमालेको १७ हजारभन्दा बढी र नेकपाको १२ हजारभन्दा बढी मतभार रहेको आयोगले जनाएको छ ।
निर्वाचनपछि महिला सात, दलित दुई, अपाङ्गता भएका दुई र अन्य समूहबाट सातजना गरी नयाँ सांसद राष्ट्रियसभामा प्रवेश गर्नेछन् । मतदान केन्द्र प्रदेश राजधानीमै तोकिएको छ ।