रुद्रबहादुर खड्का, सिन्धुली ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय तहका नेता हरिबोल गजुरेल पार्टीकै आधिकारिक उम्मेदवारविरुद्ध सक्रिय भएपछि सिन्धुलीमा उहाँको चर्को आलोचना सुरु भएको छ ।
तत्कालीन माओवादी केन्द्रका उपमहासचिवसमेत रहिसकेका गजुरेलले पार्टीको निर्णयविपरीत बागी उम्मेदवार खडा गराएको आरोप लागेपछि पार्टीभित्र असन्तोष चुलिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाबाट सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा लोकप्रिय नेताको छवि बनाएका लेखनाथ दाहा (राजन) ले आधिकारिक उम्मेदवारी दर्ता गराइसक्नुभएको छ ।
तर, नेता गजुरेल स्वयम् प्रस्तावक बसेर पार्टीकै नेता महेश्वर दाहाललाई बागी उम्मेदवारका रूपमा अघि सारेपछि पार्टीको निर्णयविरुद्ध उभिएको आरोप लागेको छ ।
महेश्वर दाहाललाई बागी उम्मेदवार उठाउन नेकपा सिन्धुलीका इन्चार्ज बुद्धिमान माझी (बसन्त) र जिल्ला संयोजक पानीराज बम्जनको समेत समर्थन रहेको बताइएको छ ।
पार्टीको आधिकारिक निर्णयलाई अवज्ञा गरेको भन्दै गजुरेल, माझी र बम्जनविरुद्ध सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ ।
सिन्धुलीका नेकपाका नेता तथा कार्यकर्ताहरूले पार्टीकै उम्मेदवारविरुद्ध षड्यन्त्र गरिएको आरोप लगाउँदै गजुरेलको कडा आलोचना गरेका छन् ।
नेताकार्यकर्ताहरूले यसलाई गम्भीर पार्टी अनुशासन उल्लङ्घनको रूपमा लिँदै गजुरेलमाथि तत्काल कडा कारबाही गर्न माग गरेका छन् ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाइएको घटनाले पार्टीभित्र गहिरो विवाद सिर्जना गरेको भन्दै यस्ता गतिविधि तुरुन्त बन्द नगरे कडा कदम चालिने चेतावनीसमेत दिएका छन् ।