रुद्रबहादुर खड्का, सिन्धुली ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुली जिल्लामा २८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी २८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्नेहरूमध्ये महिला उम्मेदवार भने एक जना मात्रै रहेका छन् । नेपाली कांग्रेसले सिन्धुली निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका लागि सुशीला थिङलाई उम्मेदवार सिफारिस गरेको थियो ।
थिङले मनोनयन दर्ता गरेसँगै थिङ सिन्धुली जिल्लाकी एक मात्र महिला उम्मेदवार बन्नु भएको छ ।
यसअघि समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य रहनु भएकी थिङ यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट उम्मेदवार बन्नु भएको हो । उहाँ विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक समेत रहनु भएको थियो ।
सिन्धुली निर्वाचन क्षेत्र नम्बर-१ बाट नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बरालले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
बराल हालै सम्पन्न कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । उहाँ कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीका निवर्तमान सभापति समेत हुनुहुन्छ ।
नेकपा एमालेबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर-१ मा प्रदीप कटुवाल र निर्वाचन क्षेत्र नम्बर-२ मा मनोजजङ्ग थापाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचन क्षेत्र नम्बर-१ मा डेकेन्द्रप्रसाद सुवेदी र निर्वाचन क्षेत्र नम्बर-२ मा लेखनाथ दाहाल (राजन) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । दाहाल विघटित प्रतिनिधिसभा सदस्य समेत हुनुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचन क्षेत्र नम्बर-१ मा रामनारायण अधिकारी दनुवार र निर्वाचन क्षेत्र नम्बर-२ मा प्राध्यापक डा. मुकुन्द गजुरेलले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन क्षेत्र नम्बर-१ मा धनेन्द्र कार्की र निर्वाचन क्षेत्र नम्बर-२ मा आशिष गजुरेल उम्मेदवार रहनु भएको छ ।
नेपाल मजदुर किसान पार्टीबाट निर्वाचन क्षेत्र नम्बर-१ मा राजेन्द्र बखुन्छे र निर्वाचन क्षेत्र नम्बर-२ मा रामेश्वरी कोजुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
श्रम संस्कृति पार्टीबाट निर्वाचन क्षेत्र नम्बर–१ मा निमबहादुर मोक्तान र निर्वाचन क्षेत्र नम्बर-२ मा इन्द्र विकले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
मंगोल नेसनल अर्गनाइजेशन पार्टीले पनि दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन क्षेत्र नम्बर-१ बाट सोमबहादुर घलान र निर्वाचन क्षेत्र नम्बर-२ बाट शान्तवीर लामाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
सिन्धुली निर्वाचन क्षेत्र नम्बर-२ बाट मितेरी पार्टी नेपालका राजन आछामीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उक्त पार्टीबाट निर्वाचन क्षेत्र नम्बर-१ मा भने उम्मेदवारी परेको छैन ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन क्षेत्र नम्बर-२ बाट मात्र ३८ वर्षीय निर्मलकुमार स्याङ्तानको उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।
राष्ट्रिय परिवर्तन पार्टीबाट निर्वाचन क्षेत्र नम्बर-१ मा सन्तोष कुमार सुनुवारले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उज्यालो नेपाल पार्टीबाट सोही निर्वाचन क्षेत्रका लागि मोतिलाल तामाङ उम्मेदवार रहनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट निर्वाचन क्षेत्र नम्बर-१ मा सुशील हमाल र निर्वाचन क्षेत्र नम्बर–२ मा बत्ये बहादुर राईले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
यसैगरी स्वतन्त्र उम्मेदवारतर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर–१ बाट अमृत बहादुर विश्वकर्मा र निर्वाचन क्षेत्र नम्बर-२ बाट नरहरि पौडेल, महेश्वर दाहाल, खड्ग बहादुर वाइवा, सरोज विक तथा माधव प्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिन्धुली निर्वाचन क्षेत्र नम्बर-१ बाट १२ जना र निर्वाचन क्षेत्र नम्बर-२ बाट १६ जना गरी कुल २८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।