काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि अहिलेसम्म २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।
आयोगले माघ ६ गते साँझसम्म देशभरबाट २ हजार ९ सय २५ उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ ।
उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले निर्वाचनका बाँकी कार्यक्रमहरू पनि सबैको सहयोगमा सफल रूपमा सम्पन्न हुने अपेक्षा व्यक्त गरे ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दर्ता भएका उम्मेदवारमध्ये ३ सय ३६ जना महिला रहेका छन्, जुन कुल उम्मेदवारको ११ प्रतिशत हो । यस्तै २ हजार ५ सय ८९ जना अर्थात् ८८ प्रतिशत पुरुष उम्मेदवार रहेका छन् ।
त्यसैगरी अपाङ्गता भएका व्यक्तिबाट ८५ जना र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तासम्बन्धी प्रारम्भिक विवरण आयोगले मङ्गलवार राति नै सार्वजनिक गर्ने जनाएको छ ।
निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ ।
त्यसै दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ ।
माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । यस्तै माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।