मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रतिनिधिसभा निर्वाचन: आज (माघ ६ गते) प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता आज देशभर सुरु हुँदैछ ।

निर्वाचन आयोगको कार्यसूचीअनुसार आज १६५ ओटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरिने आयोगले जनाएको छ ।

आयोगका अनुसार उम्मेदवारी दर्तालाई सहज र व्यवस्थित बनाउन सबै निर्वाचन क्षेत्रमा आवश्यक तयारी पूरा भइसकेको छ ।

भीडभाड कम गर्ने उद्देश्यले प्रमुख राजनीतिक दल र उम्मेदवारका लागि मनोनयन दर्ताको समयसमेत निर्धारण गरिएको छ ।

यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।

वि.सं. २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनपछि विघटन गरिएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

उम्मेदवारलाई केके कागजात चाहिन्छ ?

उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र तथा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा बहाल रहेका व्यक्तिले उम्मेदवारी दिन चाहेमा सम्बन्धित पदबाट राजीनामा दिएको प्रमाण पनि पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

दलको तर्फबाट उम्मेदवारी दिँदा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट जारी औपचारिक मनोनयनपत्र आवश्यक पर्नेछ ।

साथै उम्मेदवारले स्वघोषणा पत्र, चलअचल सम्पत्तिको विवरण, बैङ्क तथा वित्तीय संस्थामा रहेका खाता, सेयर र ऋणसम्बन्धी विवरण शिलबन्दी रूपमा बुझाउनुपर्नेछ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १० हजार रुपियाँ धरौटी रकम बुझाउनुपर्ने व्यवस्था छ ।

महिला, दलित, अल्पसङ्ख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा उक्त धरौटीमा ५० प्रतिशत छुट दिइनेछ ।

आर्थिक रूपमा विपन्न भएको प्रमाणका लागि सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य हुनेछ ।

यसका अतिरिक्त उम्मेदवारले आफूले लिएको कुनै पनि पेस्की फछ्र्योट गरेको निस्सा, लेखा परीक्षणबाट कायम बेरुजू फछ्र्योट गरेको प्रमाण तथा निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिबद्धता पत्र पेस गर्नुपर्नेछ ।

तोकिएका सबै कागजात पूरा नगरेमा उम्मेदवारको मनोनयन अमान्य हुन सक्ने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

Author

Related News