मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

घरधनीकै संलग्नतामा एसबीआई बैङ्क लुटपाट, सात जना पक्राउ

रुद्रबहादुर खड्का, सिन्धुली ।

घ्याङलेख गाउँपालिका–२, हायुटारस्थित नेपाल एसबीआई बैङ्कको शाखा लुटपाट घटनामा बैङ्क रहेको घरकै घरधनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले २०८२ माघ २ गते पत्रकार भेटघाट गर्दै घरधनी छविलाल स्याङ्तानसहित सात जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।

प्रहरी उपरीक्षक लालध्वज सुवेदीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवत सिंह थापा, घ्याङलेख–२ का ४७ वर्षीय चतुरमान बज्यु, सोही स्थानका ४४ वर्षीय छविलाल स्याङ्तान, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही स्थानका १९ वर्षीय विवेक मगर तथा १६ वर्ष नपुगेका सिन्धुलीका एक किशोर रहेका जानकारी दिनु भएको छ ।

२०८२ पस २९ गते साँझ लुटेराहरूले बैङ्कका सुरक्षा गार्ड रुद्रबहादुर कार्की र कर्मचारीहरूलाई नियन्त्रणमा लिएर बैङ्कबाट ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपियाँ लुटेर फरार भएको बैङ्क कर्मचारीले बताएका छन् ।

लुटपाटको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । त्यहाँ सुरक्षा गार्डको हातगोडा बाँधिएको र मुखमा टेप टाँसिएको अवस्था फेला पारिएपछि तत्काल उद्धार गरी फरार लुटेराको खोजी तथा नाकाबन्दी कडा पारिएको थियो ।

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो ।

खोजतलासका क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा टाटा सुमो र चालक भागवत सिंह थापालाई फेला पारिएको थियो ।

सोधपुछमा थापाले बनेपाबाट विवाहका लागि भन्दै ६ जना अपरिचित व्यक्तिले गाडी रिजर्भ गरेको बताएका कारण शङ्कास्पद देखिएपछि प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको थियो ।

यस्तै, सोही राति घटनास्थल आसपासको जङ्गलबाट बोरामा लुकाइछिपाइ तथा छरपष्ट अवस्थामा १ करोड ८० लाख १० हजार ५ सय रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

भोलिपल्ट पस ३० गते वडा नम्बर–१, सुकाचुरीबाट चार जना शङ्कास्पद व्यक्ति पक्राउ परेका थिए ।

उनीहरूको साथबाट ५ लाख ९ हजार ६ सय ७५ रुपियाँ बरामद भएको र सोधपुछपछि घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको बयानका आधारमा थप ८३ लाख ३५ हजार रुपियाँ, नकाब, पञ्जा, प्लास्टिकको पेस्तोल, २ थान खुकुरी, ५ थान मोबाइल, टेप तथा प्रयोग भएका कपडाहरू बरामद गरिएको छ ।

प्रारम्भिक बयान र प्राविधिक विश्लेषणबाट बैङ्क लुटपाटमा संलग्नता पुष्टि भएपछि बैङ्क घरधनी छविलाल स्याङ्तानलाई पक्राउ गरिएको हो ।

साथै लुटपाटमा संलग्न चतुरमान बज्युलाई वडा नम्बर–१ को जङ्गल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा २०८२ माघ १ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छविलाल र चतुरमानले गत असोजदेखि नै बैङ्क लुट्ने योजना बनाएका थिए ।

पुस २३ गते काठमाडौंबाट दुई वटा मोटरसाइकल भाडामा लिएर घ्याङलेख पुगेका उनीहरूको योजना परिस्थितिअनुकूल नभएपछि विफल भएको थियो ।

पुनः पुष २८ गते काठमाडौंबाट कोटेश्वरमा भेला भई २९ गते बनेपासम्म सार्वजनिक सवारी र त्यहाँबाट टाटा सुमो रिजर्भ गरी घ्याङलेख पुगेका थिए ।

अनुसन्धानमा घरधनीले नै आवश्यक हातहतियारको व्यवस्थापन, सूचना उपलब्ध गराउने तथा निर्देशन दिने भूमिका खेलेको खुलेको छ । हालसम्म प्रहरीले २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपियाँ बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सबैलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Author

Related News