काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।
२०८२ पुस २७ गते देखि पुस ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो ।
विशेष महाधिवेशनबाट भएको निर्णय अनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीले २०८२ माघ १ गते आयोगमा निवेदन दिएका थिए ।
कार्यवहाक सभापति पूर्णबहादुर खड्का (देउवा पक्षका) नेताहरूले २०८२ माघ २ गते बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । त्यसपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई आयोगमा बोलाएको थियो ।
माघ २ गते साँझ आयोगले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै कांग्रेसको आधिकारिकता विवाद एक तहमा टुङ्गिएको छ ।
तर देउवा पक्ष आयोगलाई चुनौति दिँदै अदालत जाने र जनस्तरबाट विरोध गर्ने तयारीमा रहेको बताइएको छ ।