रुद्रबहादुर खड्का, सिन्धुली ।
तीनपाटन गाउँपालिका–३ राम्चे कोलबोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय दीपक भन्ने शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय सम्पत भन्ने चुक्तबहादुर कटुवाल रहेका प्रहरीले जनाएको छ ।
टङ्कमाया बुढाथोकी २०८२ पुस ८ गतेदेखि बेपत्ता भएपछि पीडित पक्षले पुस ९ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा खोजतलासका लागि उजुरी दिएको थियो ।
उजुरीपछि घटनाको अनुसन्धान थालेको प्रहरीले ड्रोनसमेत प्रयोग गरी खोजतलास गर्ने क्रममा पुस २१ गते मृतकको घरबाट करिब एक किलोमिटर टाढा बाँसको झ्याङमा शव फेला पारेको हो ।
शवको पोस्टमार्टम पुस २२ गते सिन्धुली अस्पतालमा गरी सोही दिन अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पुस २२ गते पक्राउ गरिएको हो ।
जिल्ला अदालत सिन्धुलीबाट पुस २३ गते पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनु भयो ।
आरोपित दीपक भन्ने शान्तिबहादुर बुढाथोकी यसअघि २०७३ सालमा चोरी कसुरमा पक्राउ परी एक वर्ष कैद सजाय भुक्तान गरी छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
