ललितपुर । पेसागत महासङ्घ नेपालका अध्यक्ष तथा विश्व ट्रेड युनियन महासङ्घको प्रेसिडेन्सियल काउन्सिल सदस्य प्रेमलकुमार खनालले भेनेजुएलामाथि भएको भनिएको अमेरिकी सैन्य हस्तक्षेपको घोर भर्त्सना गर्दै तत्काल बन्द गर्न माग गर्नुभएको छ ।
२०८२ पुस २० गते जारी गरिएको विज्ञप्तिमा खनालले जनवरी ३ तारिखमा अमेरिकी सेनाले संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भेनेजुएलामाथि हवाई आक्रमण गरेको तथा राष्ट्रपति निकोलस मादुरो र उहाँकी धर्मपत्नी सिसिलिया फ्लोरेससहित परिवारजनलाई अपहरण गरी अमेरिका लगिएको भनिएको घटनाको विरोध गर्दै घटनाको भर्त्सना गर्नुभएको हो ।
विज्ञप्तिमा साम्राज्यवादी अमेरिकाले भेनेजुएलाको तेललगायत प्राकृतिक स्रोतमा कब्जा जमाउने उद्देश्यले सैनिक हस्तक्षेप गरेको आरोप लगाउँदै यस प्रकारको कार्य संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन तथा मानव अधिकारको ठाडो उल्लङ्घन भएको उल्लेख गरिएको छ ।
खनालले अमेरिकाको यस्तो सैन्य हस्तक्षेप र आक्रमणको घोर भर्त्सना गर्दै भेनेजुएलाका जनताले आफ्नो सार्वभौमसत्ता रक्षाका लागि गरिरहेको सङ्घर्षप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।
साथै विज्ञप्तिमा भेनेजुएलामाथिको अमेरिकी सैन्य हस्तक्षेप तत्काल बन्द गर्न, अपहरित भनिएका राष्ट्रपतिको सकुशल रिहाइ गर्न तथा भेनेजुएली जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न माग गरिएको छ ।
यस विषयको समाधानका लागि संयुक्त राष्ट्रसङ्घले यथाशीघ्र पहल गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
