सिन्धुली । पुस ६ गते आफ्नै घरका परिवारका सदस्यले पेट्रोल छर्केर आगो लगाई हत्या गरिएकी कमलामाई नगरपालिका–४ धुराफाँटकी सुशीला बम्जनको शव तेह्रौं दिनमा २०८२ पुस १८ गते शुक्रबार उठाइएको छ ।
सासू मायारानी बम्जन, नन्द मिना लामा र ससुरा दुर्गामान बम्जनले सुशीलालाइ जिउँदै आगो लगाई हत्या गरेको आरोप छ ।
मृतकका नावालक सन्तानको पठनपाठन र भरणपोषणका विषयमा माइती पक्ष र घर पक्षबिच सहमति जुटेपछि शव उठाइएको हो ।
तेह्रौं दिनमा माइती र घर परिवारले संयुक्त रूपमा शव बुझेका हुन् । शव बुझिसकेपछि हरिहरपुरगढी गाउँपालिका–४ द्वारखोलामा तामाङ संस्कारअनुसार सुशीलाको अन्त्येष्टि गरिएको छ ।
माइती पक्षबाट मृतकका दाजु भिमबहादुर घिसिङ, भाउजु निर्मला स्याङतान, भाइ प्रेमबहादुर घिसिङ र देवर वृखबहादुर बम्जनले शव बुझेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिनु भयो ।
सुशीलाका सात वर्षका दुई छोरा र एक छोरी रहेका छन् । नावालकहरूको पठनपाठन र संरक्षणका विषयमा सहमति भएपछि शव बुझाइएको एसपी सुवेदीले बताउनु भयो ।
शव बुझ्नु अघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भएको छलफलअनुसार मृतकका छोराछोरीहरूलाई न्यु स्टार बोर्डिङ स्कुलको होस्टलमा पूर्ण आवासीय रूपमा राख्ने र १५ महिनाको पठनपाठन तथा भरणपोषण खर्च मृतकका देवर वृखबहादुर बम्जनले व्यहोर्ने सहमति भएको छ ।
त्यसैगरी माइती पक्षले बालबालिकालाई जुनसुकै समयमा भेट्न पाउने र रेखदेख गर्न पाउने व्यवस्था गर्ने सहमति पनि भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदी, कमलामाई नगरपालिका–४ का वडाध्यक्ष महेन्द्रप्रसाद ढकालको उपस्थितिमा तथा वडाध्यक्ष ढकालको रोहवरमा घर र माइती पक्षबीच सहमति भएको हो ।
शुक्रबार भएको सहमतिअनुसार सहमति भएको मितिले ६ महिनाभित्र नावालकहरूको नाममा संयुक्त बैंक खाता खोली उनीहरूका पिता सूर्यबहादुर बम्जनको अंशबाट कट्टा हुने ४० लाख रुपियाँ बैंकमा दाखिला गरिदिने सहमति भएको छ ।
साथै बाँकी सम्पत्तिमा पनि सूर्यबहादुर बम्जनको तर्फबाट नावालकहरूको अंश तथा हक अधिकार यथावत रहने सहमति गरिएको छ ।