मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

अन्तर–जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

रुद्र बहादुर खड्का, सिन्धुली

सिन्धुली, रामेछाप र काभ्रेपलान्चोक जिल्लाका सुरक्षा निकायबिच अन्तर–जिल्ला सुरक्षा समन्वय तथा निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोटमा २०८२ पुस १६ गते आयोजित अन्तर–जिल्ला स्तरीय सुरक्षा बैठकमा तीनै जिल्लाका सुरक्षा समितिका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, निर्वाचन सुरक्षा, सडक सुरक्षा, विपद् प्रतिकार्य तथा व्यवस्थापन, सेवा प्रवाह र विकास निर्माणमा सहजीकरणलगायत समसामयिक साझा विषयमा केन्द्रित रही अभिमुखीकरण गरिएको थियो ।

सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलका अनुसार २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनसम्बन्धी शान्ति सुरक्षा, अमनचयन तथा सुरक्षा व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको हो ।

छलफल कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरूले देशमा शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम राख्न, अपराध नियन्त्रण गर्न आवश्यक समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउने विषयमा समेत विशेष ध्यान केन्द्रित गरिएको कार्यक्रममा बताइएको छ ।

बैठकमा तीन जिल्लाका सिमाना क्षेत्रमा संयुक्त सुरक्षा व्यवस्थापन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरण, अवैध हातहतियारको खोजी तथा नियन्त्रण, फरार कैदीबन्दी नियन्त्रण, सूचना आदान–प्रदान र सूक्ष्म निगरानी गर्ने विषयमा आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।

यसैगरी समाजमा देखिँदै आएका घरेलु हिंसा, विकृति र विसङ्गति तथा बढ्दो लागूऔषध कारोबार र दुर्व्यसन नियन्त्रणका लागि कडाइ गर्ने विषयमा पनि छलफल भएको थियो ।

विपद्जन्य घटनामा खोज, उद्धार र प्रतिकार्यका लागि अन्तर–जिल्ला स्रोत साधनको प्रभावकारी प्रयोग गर्ने निर्णय समेत गरिएको पौडेलले जानकारी दिनु भयो ।

बैठकमा तीन जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, आवतजावत तथा ढुवानी प्रणाली, चोरी पैठारी नियन्त्रण र बीपी राजमार्गको निर्माण कार्यमा सहजीकरण गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

Author

Related News