काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्तिमार्फत २०८२ पुस १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेको जानकारी दिनु भएको हो ।
विज्ञप्तिमा भनिएको छ-‘मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।’
प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरुष, ९२ लाख ४० हजार १ सय ३१ जना महिला र अन्य २ सय जना गरी जम्मा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता समावेश भएको उल्लेख छ ।
२०७९ सालमा सम्पन्न निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता रहेका थिए ।
आयोगका अनुसार निर्वाचनको लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
