रुद्रबहादुर खड्का, सिन्धुली ।
वागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर काम गरिरहेको बताउनु भएको छ ।
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा नव–निर्मित १ सय शैया क्षमताको सिन्धुली अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले स्वास्थ्य र शिक्षा जनताका आधारभूत तथा पहिलो अधिकार भएको उल्लेख गर्नु भयो । यी क्षेत्रलाई मजबुत बनाउनु प्रदेश सरकारको प्रमुख दायित्व भएको उहाँले बताउनु भयो ।
मुख्यमन्त्री बानियाले प्रदेश सरकारले स्वास्थ्य सेवाको पहुँच ग्रामीण भेगसम्म पुर्याउने उद्देश्यसहित पूर्वाधार निर्माण, उपकरण व्यवस्थापन तथा दक्ष जनशक्ति व्यवस्थापनमा ध्यान दिइरहेको स्पष्ट पारे ।
उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्य बिना प्रभावकारी सेवा प्रवाह सम्भव नहुने भएकाले प्रदेश सरकारले स्थानीय तहसँग मिलेर योजना निर्माण र कार्यान्वयन गरिरहेको बताउनु भयो ।
नव–निर्मित सिन्धुली अस्पताल सञ्चालनमा आएसँगै जिल्लाबासीले गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै जिल्लामा पाउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री बानियाले यस अस्पतालले सिन्धुली मात्र नभई आसपासका जिल्लाका नागरिकलाई समेत लाभ पुग्ने बताउनु भयो । अब सामान्य उपचारका लागि टाढा–टाढा धाउनुपर्ने बाध्यता कम हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाले आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने गरी कार्यक्रमहरू अघि बढाइने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।