घरेलु हिंसा र पूर्वधम्कीको पृष्ठभूमिमा घटना, अनुसन्धान जारी
रुद्रबहादुर खड्का, सिन्धुली ।
कमलामाई नगरपालिका–४ धुराफाँटमा ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको घटनाले जिल्लालाई स्तब्ध बनाएको छ ।
आफ्नै घरभित्र २०८२ पुस ५ गते भएको उक्त घटनामा सुशीलाको घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार सुशीलालाई घरको एक कोठाभित्र पेट्रोल छर्केर आगो लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगलागीका क्रममा ससुरा दुर्गामान बम्जन समेत आगोको लप्कामा परेर घाइते भएका छन् । उहाँको दाहिने हात, दाहिने गोडा र ढाड जलेको छ ।
प्यारालाइसिसका बिरामी भएकाले भाग्न नसक्दा शरीरका केही अङ्ग जलेको प्रहरीको भनाइ छ । हाल उहाँको उपचार सिन्धुली अस्पतालमा भइरहेको छ ।
घटनाका बेला सुशीलाले चिच्याएर बचाउन हारगुहार गरेको आवाज सुनेपछि छिमेकीहरू घटनास्थल पुगेको तर घरको गेट बाहिरबाट ताल्चा लगाइएको अवस्था भेटिएको स्थानीयको भनाइ छ ।
कोठाभित्र आगो बलिरहेको र सोही समयमा नन्द मिना बम्जन घरको गल्लीमा उभिइरहेको देखिएको स्थानीयले बताएका छन् ।
मृतकका माइती पक्षले सुशीलालाई नन्द मिना बम्जन र सासू मायारानी बम्जनले मिलेर आगो लगाई हत्या गरेको गम्भीर आरोप लगाएका छन् ।
माइती पक्षको दाबीअनुसार सुशीलालाई विगत ६–७ वर्षदेखि नन्द, सासू र ससुराबाट निरन्तर मानसिक यातना दिइँदै आएको थियो ।
पछिल्लो दुई महिनादेखि नन्द मिनाले घर नछोडे मार्ने धम्की दिँदै आएको र सो विषयमा सुशीलाले आफन्त तथा माइतीलाई पटक–पटक जानकारी गराउँदै आएको उनीहरूको भनाइ छ ।
घटनाको करिब एक घण्टा अघि सुशीलाले आफ्नी बहिनी सन्धीलाई फोन गरेर आफूलाई मार्ने योजना भइरहेको र नन्दले बिहानैदेखि ‘आजै मार्छु’ भन्दै धम्की दिइरहेको जानकारी गराएको बताइएको छ ।
त्यसको एक घण्टामै सुशीलाको मृत्यु भएपछि यो घटना योजनाबद्ध हत्या भएको माइती पक्षको शङ्का छ ।
घटनापछि घटनास्थल पुगेका मृतकका काका सुकबहादुर घिसिङ र भाउजु निर्मला स्याङतानले यो आत्महत्या नभई स्पष्ट हत्या भएको दाबी गर्नु भएको छ ।
प्रहरीका अनुसार घटना स्कुलबाट छोराछोरी आएर खाजा खाई ट्युसन पठाइसकेपछि भएको देखिन्छ ।
घटनास्थलको भान्सामा सेलरोटी छरिएको, सेल पकाउने भाँडामा तेल बाँकी रहेको तथा नन्दको सुत्ने कोठाभित्र पेट्रोल छर्केर आगो लगाइएको प्रमाण फेला परेको छ । आगलागीबाट बेडसहित कोठाका सामग्री पूर्ण रूपमा जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनास्थलबाट पेट्रोलको बोतल, डस्टविनमा फालिएको लाइटरलगायत सामग्री बरामद गरेको जनाएको छ ।
मृतक सुशीलाका सात वर्षका दुई छोरा र एक छोरी तिम्ल्याहा सन्तान छन् । सुशीलाका पति सूर्य बम्जन दुई वर्षदेखि कोरियामा वैदेशिक रोजगारीमा रहनु भएको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुबेदीको नेतृत्वमा १५ सदस्यीय टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य सुवेदीका अनुसार घटनालाई शङ्कास्पद मानी सबै कोणबाट अनुसन्धान भइरहेको छ । दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।