पोखरा । बालबालिकाको शिक्षा अधिकारलाई व्यवहारिक रूपमा सुनिश्चित गर्ने तथा कार्यान्वयनमा देखिएका चुनौतीहरूको पहिचान गर्ने उद्देश्यले चिल्ड्रेन–नेपाल, पोखराको आयोजनामा साझेदार विद्यालयहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
२०८२ मङ्सिर २९ गते आयोजित कार्यक्रममा पोखरा महानगरपालिका भित्रका १३ ओटा साझेदार विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा चिल्ड्रेन–नेपालका वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईं र कार्यक्रम संयोजक रमेश सुबेदीले सहजीकरण गर्नु भएको थियो ।
अन्तरक्रियामा नेपालको संविधानले व्यवस्था गरेको अनिवार्य तथा निःशुल्क शिक्षाको मौलिक अधिकार, दिगो विकास लक्ष्य अन्तर्गतको गुणस्तरीय शिक्षा, तथा बालबालिका सम्बन्धी ऐन २०७५ लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित नीति तथा कानुनी प्रावधानबारे विस्तृत छलफल गरिएको थियो ।
साथै शिक्षा अधिकारको कानुनी आधार, विद्यालय तहमा यसको कार्यान्वयन अवस्था र स्थानीय तहको भूमिकामाथि विशेष जोड दिइएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूले आफ्ना विद्यालयमा शिक्षा अधिकार कार्यान्वयनका क्रममा अपनाइएका असल अभ्यास, सामना गर्नुपरेका चुनौती र विद्यमान समस्याबारे प्रस्तुति दिएका थिए ।
छलफलका क्रममा आर्थिक अभाव, अभिभावकको न्यून सहभागिता, विद्यार्थीको अनियमित उपस्थिति, भौतिक पूर्वाधारको कमी, शिक्षक व्यवस्थापन र नीतिगत अस्पष्टता जस्ता समस्या प्रमुख रूपमा उठाइएका थिए ।
जनप्रिय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम बरालले विद्यालयहरू आफ्नै प्रयास, स्थानीय तहसँगको सहकार्य, अभिभावक सचेतना कार्यक्रम तथा चिल्ड्रेन–नेपालजस्ता सङ्घसंस्थाको सहयोगमा बालबालिकाको शिक्षा अधिकार सुनिश्चित गर्न निरन्तर प्रयासरत रहेको बताउनु भयो ।
सहारा बाल आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले विभिन्न समस्या हुँदाहुँदै पनि कुनै पनि बालबालिका विद्यालय बाहिर नरहून् भन्ने प्रतिबद्धता रहेको उल्लेख गर्दै साझा प्रयासलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूले शिक्षा अधिकारको कार्यान्वयन विद्यालय मात्रको दायित्व नभई अभिभावक, समुदाय र स्थानीय सरकारको संयुक्त जिम्मेवारी भएको उल्लेख गरे ।
सबै पक्षबिच समन्वय र निरन्तर सम्वाद कायम भएमा चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिने विश्वास उनीहरूले व्यक्त गरे ।
कार्यक्रममा चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले सहभागीहरूलाई स्वागत गर्दै बालबालिकाको शिक्षाको अधिकार व्यवहारमै सुनिश्चित गर्न विद्यालय, अभिभावक, समुदाय र सरोकारवाला निकायबिच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा कन्या माध्यमिक विद्यालय, बाराही माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, छोरेपाटन माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, पार्दी माध्यमिक विद्यालय, श्रीकृष्ण माध्यमिक विद्यालय, नवप्रभात माध्यमिक विद्यालय, सिर्जना माध्यमिक विद्यालय, सहारा बाल आधारभूत विद्यालय, धर्मस्थली आधारभूत विद्यालय, श्रीराम आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो ।