मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

हेटौंडामा मानवअधिकारसम्बन्धी अन्तरक्रिया

रुद्रबहादुर खड्का, हेटौंडा

‘मानव अधिकार हामी सबैको अपरिहार्य आधार’ भन्ने मूल नाराका साथ बागमती प्रदेशको हेटौंडामा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेश र इन्सेक बागमती प्रदेशको संयुक्त आयोजनामा तथा मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको सञ्जाल, मकवानपुर  र प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको सहकार्यमा सञ्चालन गरिएको हो ।

कार्यक्रममा  बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले नेपालको संविधानले मानव अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको उल्लेख गर्दै, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण तथा विकास गर्न सबैको दायित्व रहेको बताउनु भयो ।


उहाँले मानव अधिकार उल्लङ्घन भएका घटनामा छानबिन तथा अनुसन्धान प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै, पिडकलाई कारबाही र पीडितलाई न्याय तथा राहत प्रदान गर्नु राज्यको कर्तव्य रहेको स्पष्ट पार्नु भयो ।

उपसभामुख चापागाईंले मानव अधिकार पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन अवस्थाको अनुगमन गरी मानव अधिकार सुधारका लागि सरकार सक्रिय बन्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख चन्द्रकान्त चापागाईंले मानव अधिकार ऐन तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार दिगो विकासका लक्ष्य सबैको मानव अधिकार सुनिश्चिततामा जोडिएको उल्लेख गरे ।


उहाँका अनुसार पछाडि पारिएका जातजाति, लक्षित वर्ग, अल्पसङ्ख्यक तथा लैङ्गिक–यौनिक समुहको अधिकार सुनिश्चित गर्दै न्यायपूर्ण, सुरक्षित र दिगो शान्तियुक्त नयाँ नेपाल निर्माण गर्नुपर्ने आवश्यकता छ ।

इन्सेक बागमती प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकार विश्वव्यापी घोषणा पत्रमा उल्लेखित धारणाहरू सबैले बुझ्नुपर्नेमा जोड दिनु भयो ।


उहाँले लैङ्गिक हिंसा न्यूनीकरण, मानव अधिकार अनुगमन, अभिलेखीकरण तथा उल्लङ्घन भएका घटनामा पीडितलाई न्याय दिलाउने प्रक्रियामा सबै निकाय सक्रिय हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बागमती प्रदेशको मानव अधिकार अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत रविना घिमिरेले कार्यपत्र प्रस्तुत गर्नु भयो ।

गैरसरकारी संस्था महासङ्घ नेपाल बागमती प्रदेशका अध्यक्ष कमलकुमार विश्वकर्माले मानव अधिकार र आम निर्वाचन विषयक कार्यपत्र प्रस्तुत गर्नु भयो ।

Author

Related News