मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

आधुनिक दासत्वमा ५ करोड व्यक्ति जोखिममा

काठमाडौं । विश्वभर बढ्दो मानव तस्करी, जबरजस्ती श्रम र यौन शोषणका घटनाले आधुनिक दासत्वको स्वरूप झन् जटिल बन्दै गएको चेतावनी २०८२ मङ्सिर १६ गते विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका छन् ।

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसको अवसरमा सार्वजनिक प्रतिवेदनहरूका अनुसार, दासत्व अब केवल पुरानो इतिहासको शब्द होइन, प्रविधि, श्रम बजार र सामाजिक असमानतासँग जोडिएको वैश्विक सङ्कट बनेको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार आज पनि करिब ५ करोड मानिस आधुनिक दासत्वको जोखिममा परिरहेका छन् ।

तीमध्ये सबैभन्दा धेरै महिला र बालबालिका यौन शोषण, घरेलु काम र बलपूर्वक श्रममा फसाइने गरेको उल्लेख छ ।

विशेषगरी प्रवासी श्रमिक, आर्थिक रूपमा कमजोर समुदाय र सामाजिक रूपमा बहिष्कृत समूह सबैभन्दा बढी जोखिममा रहेको बताइएको छ ।

निर्माण, कृषि, वस्त्र उद्योग, घरेलु सेवा तथा मनोरञ्जन/यौन क्षेत्रजस्ता क्षेत्रमा उनीहरूलाई कम ज्याला, लामो समय र हिंसात्मक अवस्थासहित काम गर्न बाध्य पारिएको तथ्य उजागर भएको छ ।

सन् १९४९ डिसेम्बर २ मा मानव बेचबिखन तथा यौन शोषण रोक्न संयुक्त राष्ट्रसङ्घ महासभाले पारित गरेको प्रस्तावको स्मरणमा यो दिवस मनाइन्छ ।

तर विशेषज्ञहरूका अनुसार ७५ वर्ष बितिसक्दा पनि दासत्वका रूपान्तरण भएका नयाँ स्वरूपहरूलाई नियमन गर्न सरकार तथा समाज दुवै सक्षम बनेका छैनन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले आर्थिक शोषण रोक्न सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय समुदायबीच बलियो सहकार्य आवश्यक रहेको र दासत्व पीडितहरूको उद्धार, पुनःस्थापना, न्यायिक उपचार तथा दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु अत्यावश्यक भएको जनाएको छ ।

यस वर्षको दिवसले दासत्वविरुद्धको लडाइँ केवल कानुनी नभई सामाजिक, आर्थिक र प्रविधिक चुनौती भएको सङ्केत गर्दै विश्व समुदायलाई थप चनाखो हुन आग्रह गरेका छन् ।

Author

Related News