मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

दुधौलीमा १५ दिने फोटो-भिडियो सम्पादन तालिम सुरु

रुद्रबहादुर खड्का, सिन्धुली

“सिप सिकौँ, उद्यमी आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ उद्योग बाणिज्य कार्यालय सिन्धुलीले दुधौली नगरपालिका-४ स्थित श्री सरस्वती क्याम्पस डकाहाका विद्यार्थीलाई लक्षित गर्दै १५ दिने आधारभूत फोटो तथा भिडियो सम्पादन तालिम सुरु गरेको छ । तालिम २०८२ मङ्सिर ११ गतेबाट सञ्चालनमा आएको हो ।

उद्घाटन कार्यक्रममा संविधान सभाका सदस्य तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विषमलाल अधिकारी (दनुवार)ले विद्यार्थीलाई शिक्षासँगै जीवन उपयोगी सीप सिक्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले फोटो–भिडियो जस्ता डिजिटल सीपले व्यक्तिगत क्षमताको विकास मात्र नभई आर्थिक तथा व्यवसायिक अवसर सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भयो ।

आधुनिक डिजिटल युगमा दृश्य सञ्चारको प्रभाव र उपयोगिता झनै बढ्दै गएको उहाँको भनाइ थियो ।

उद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव ढकालले जिल्लामा युवा रोजगारी बढाउने तथा स्वरोजगार प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनु भयो ।

सिन्धुलीमा पहिलो पटक फोटो तथा भिडियोसम्बन्धी आधारभूत तालिम दुई क्याम्पसमा सुरु गरिएको बताउँदै उहाँले सहभागी विद्यार्थीलाई यसलाई अवसरका रूपमा लिन आग्रह गर्नु भयो ।

१५ जना सहभागी रहेको तालिमको सहजीकरण राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीका अध्यक्ष उद्धवकुमार श्रेष्ठले गरिरहनु भएको छ । आयोजकका अनुसार २०८२ मङ्सिर २५ गते तालिमको औपचारिक समापन हुने छ ।

Author

Related News