काठमाडौँ । नेपाल राष्ट्र बैङ्क, गभर्नरको कार्यालय र सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रको समन्वयमा विद्यालय–स्तरका सामाजिक अध्ययन विषयमा समावेश गरिने वित्तीय शिक्षा/साक्षरतासम्बन्धी विषयवस्तुबारे अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा ४ देखि १२ सम्मका सामाजिक अध्ययनका परिमार्जित पाठ्यक्रम सार्वजनिक गरिएको छ। सोही आधारमा नयाँ पाठ्यपुस्तक लेखन कार्य सुरु भएको पाठ्यक्रम विकास केन्द्रकी सामाजिक अध्ययन शाखा अधिकृत सरस्वती भट्टराईले जानकारी दिनु भयो ।
उहाँका अनुसार शैक्षिक सत्र २०८३ देखि कक्षा ५, ८, १० र १२ का पाठ्यपुस्तक एकाइगत रूपमा परीक्षण गरिनेछ ।
नेपाल राष्ट्र बैङ्ककी वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले पाठ्यपुस्तकमा वित्तीय साक्षरताका विषय समावेश हुँदा विद्यार्थीको व्यवहारिक ज्ञान र निर्णय क्षमता थप सुदृढ हुने उल्लेख गर्दै शुभकामना व्यक्त गर्नु भयो ।
त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन पाठ्यक्रम परिमार्जनले श्रमप्रति सम्मान, उद्यमशीलता र स्वरोजगार उन्मुख शिक्षा प्रवाह गर्ने उद्देश्य बोकेको बताउनु भयो ।
सामाजिक अध्ययनका विज्ञ लेखकहरू हाल पाठ्यपुस्तक लेखनमा सक्रिय रहेका छन् । प्रदेशगत रूपमा विद्यालय छनौट गरी प्रारम्भिक परीक्षण तथा अन्तरक्रिया प्रक्रिया पनि सम्पन्न भइसकेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।