काठमाडौँ । विभिन्न सार्वजनिक संस्थान, बैङ्कवित्तीय क्षेत्र, स्वास्थ्य, शिक्षा, सहकारी, स्थानीय तह, विश्वविद्यालय तथा सार्वजनिक सेवालगायत क्षेत्रमा कार्यरत श्रमिक पेसाकर्मीहरूको छाता सङ्गठन पेसागत महासङ्घ नेपालले श्रमिक हितसम्बन्धी प्रमुख मुद्दामा सरकारको ध्यानाकर्षण गराएको छ ।
महासङ्घको स्थायी समिति बैठक २०८२ मङ्सिर ९ गते सम्पन्न भई जारी गरिएको विज्ञप्तिमा हालको ट्रेड युनियन आन्दोलन, समसामयिक घटनाक्रम र पेसाकर्मीहरूको सुरक्षासम्बन्धी चुनौतीबारे विस्तृत विश्लेषण गरिएको छ ।
महासङ्घका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख धरणीधर अधिकारीद्वारा जारी विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गतेको घटनाक्रममा भएको धनजनको क्षतिप्रति महासङ्घले गम्भीर चासो व्यक्त गरेको छ ।
महासङ्घले पछिल्ला दिनमा विभिन्न समूहको नाममा श्रमिक पेसाकर्मीमाथि भएको कुटपिट र अपमानजनक व्यवहारको महासङ्घले कडा शब्दमा भर्त्सना गर्दै पेसाकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।
संविधान जारी भएको दशक बितिसक्दा सङ्घीय निजामती र शिक्षा ऐन अझै जारी हुन नसक्नु सरकारी सेवाप्रवाह र कर्मचारी–शिक्षकको व्यावसायिक विकासमा नकारात्मक असर परेको भन्दै महासङ्घले दुवै ऐन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महासङ्घले स्वदेश तथा विदेशमा कार्यरत पेसाकर्मीलाई जहाँ कार्यरत छन् त्यहीँबाट मतदान गर्न सक्ने सुनिश्चित व्यवस्था मिलाउन निर्वाचन आयोग र सरकारलाई अनुरोध गरेको छ ।
साथै नीतिनिर्माण तहमा श्रमिक वर्गको उपस्थिति बढाउन श्रमिकका लागि छुट्टै क्लस्टर राखी प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्थासमेत गर्नुपर्ने जनाएको छ ।
