मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

त्रुटी सच्चाउने र मतदाता नामावली अद्यावधिक गर्ने कार्य सम्पन्न

रुद्रबहादुर खड्का, सिन्धुली ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार २०८२ असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म सङ्कलन भएको तथ्याङ्कअनुसार जिल्लामा कुल ७ हजार ३९ जना नयाँ मतदाता दर्ता भएका छन् ।

जिल्लाका २ हजार १६ जनाले कार्यालयमार्फत तथा ५ हजार २३ जनाले नेपाल राष्ट्रिय परिचयपत्र (NID) प्रणालीमार्फत दर्ता गराएका छन् ।

२०८२ फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा पुनः निर्वाचनको तयारीसँगै जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक गराउनेहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार यस अवधिमा २ सय जनाले आफ्नो विवरणमा त्रुटी सच्याएका छन्, जबकि ५ सय ९६ जनाले ठेगाना परिवर्तन गरेका छन् ।

सूचना अधिकारी अस्मिता लुङ्गेलीका अनुसार नाम दर्ता गराउन आउनेमा युवाहरूको सहभागिता उत्साहजनक रहेको छ ।

लुङ्गेलीका अनुसार राष्ट्रिय परिचयपत्रका लागि वायोमेट्रिक प्रक्रिया पूरा गरिसकेका तर निर्वाचन आयोगमा फोटो नखिचाएका व्यक्तिहरूको थप सङ्ख्याबारे भने कार्यालयसँग स्पष्ट तथ्याङ्क उपलब्ध छैन ।

निर्वाचन कार्यालय सिन्धुलीले १८ वर्ष पुगेका व्यक्तिहरूको मतदाता विवरण सङ्कलन कार्य निरन्तर रूपमा गर्दै आएको छ ।

Author

Related News