मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

स्वास्थ्य सेवामा फिक्कल गाउँपालिका पहिलो, स्वास्थ्य शाखा प्रमुख फुयाँल सम्मानित

रुद्रबहादुर खड्का, सिन्धुली ।

आर्थिक वर्ष २०८१/०८२ का लागि स्थानीय तहबाट प्रदान गरिएका स्वास्थ्य सेवाको मूल्याङ्कनमा फिक्कल गाउँपालिका प्रदेशभरि पहिलो स्थान हासिल गरेको छ ।

गुणस्तरीय सेवा विस्तार, आम नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि, स्वास्थ्य पूर्वाधार सुधार तथा समयमै सेवा उपलब्ध गराउने कार्यमा फिक्कलले देखाएको उल्लेखनीय प्रगतिका आधारमा बागमती प्रदेश सरकारले फिक्कललाई सम्मान गरेको हो ।

यस उपलब्धिको सम्मानस्वरूप फिक्कल गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख लेखनाथ फुयाँललाई बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाले सम्मानित गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउँदै लैजान निरन्तर प्रेरित रहने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा मन्त्री थापाले फिक्कल गाउँपालिकाले प्रस्तुत गरेको कार्यसम्पादन स्थानीय सरकारको उत्कृष्ट अभ्यासको नमुना भएको बताउँदै भन्नु भयो-“यस्ता पहलहरूले मात्र स्थानीय तहलाई जनसेवाको वास्तविक केन्द्र बनाउँछन् ।”

उहाँले स्वास्थ्य शाखा प्रमुख फुयाँलको नेतृत्वमा टोल–टोलमा पुगेको सेवा प्रवाहको प्रशंसा पनि गर्नु भयो ।

त्यसैगरी, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य सेवा पहुँच र गुणस्तरका सूचकहरूमा फिक्कलले गरेको निरन्तर सुधार प्रदेशकै लागि प्रेरणादायी रहेको उल्लेख गर्दै भन्नु भयो- “फिक्कल स्थानीय–प्रदेश सहकार्यको उत्कृष्ट उदाहरण हो ।”

फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले स्वास्थ्य शाखाले देखाएको मेहनत, प्रतिबद्धता र जनसेवाप्रतिको जिम्मेवारीपूर्ण कार्यकै फलस्वरूप गाउँपालिका प्रदेशस्तरमा प्रथम बन्न सफल भएको बताउनु भयो ।

पछिल्ला वर्षहरूमा फिक्कल गाउँपालिकाले मातृशिशु स्वास्थ्य, खोप अभियान, वातावरणीय स्वास्थ्य, पोषण कार्यक्रम तथा नियमित स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ ।

फिक्कल गाउँपालिका र स्वास्थ्य शाखाले प्राप्त गरेको यो उपलब्धि स्थानीय विकास र जनस्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण सफलता मानिएको छ ।

प्रदेशस्तरको यो सम्मानले आगामी दिनमा स्वास्थ्य सेवा गुणस्तर वृद्धि, नवनवीन कार्यक्रम विस्तार तथा जनमैत्री सेवा प्रवाहमा अझ ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।

Author

Related News