ललितपुर । बाराको सिमरामा मङ्सिर ३ गते नेकपा एमालेका कार्यकर्ता र स्थानीय जेन्जी समूहबिच भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाउँदै शान्तिसुरक्षा स्थितिलाई सुदृढ बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । आयोगले घटनाको प्रत्यक्ष अनुगमन गरिरहेको जनाएको छ ।
घटनाक्रम अनुसार राष्ट्रिय युवा सङ्घ नेपालद्वारा २०८२ मङ्सिर ३ गते परवानीपुरमा आयोजना गरिएको मधेश प्रदेशस्तरीय पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन एमालेका केन्द्रीय नेता सिमरा जाँदै गर्दा जेन्जी समूहका संयोजकले मङ्सिर २ र ३ गते फेसबुकमार्फत गरेको आव्हानका आधारमा बिहान करिब १०:३० बजे जेन्जी समूहका युवाहरू सिमरा चोकमा भेला भएका थिए ।
सोही समयमा एमाले कार्यकर्ता त्यहाँ पुगेपछि दुई पक्षबिच विवाद उत्पन्न भई असामान्य स्थिति सिर्जना भएको आयोगको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।
घटनामा पाँच जना युवा घाइते भएको, आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढ्दा विमानस्थल अगाडिको गेटमा क्षति पुगेको र उडानसमेत प्रभावित भएको आयोगले जनाएको छ ।
उडान अवरुद्ध भएपछि एमालेका नेता पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन नसकेको तथा स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।
घाइते युवाहरूको नगर अस्पतालमा उपचार भइरहेको तथा आक्रमण संलग्न व्यक्तिविरुद्ध स्थानीय प्रहरीमा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
निर्वाचन सुरक्षा वातावरणबारे आयोगको चिन्ता
देशको राजनीतिक परिस्थिति संवेदनशील बन्दै गएको र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनका लागि आवश्यक शान्त, स्वतन्त्र र सहज वातावरण कमजोर हुने आयोगको ठम्याइ छ ।
आयोगका अनुसार यस प्रकारका घटनाले संविधानको धारा १७ मा प्रदत्त स्वतन्त्रताको हक प्रभावित हुनुका साथै निर्वाचन सरोकारवालाबीच आपसी सद्भावमाथि समेत प्रतिकूल असर पर्न सक्छ ।
नेपाल सरकारलाई आयोगको निर्देशन
आयोगले नेपाल सरकारलाई तत्काल आवश्यक पहल गर्न निर्देशनसमेत दिएको छ ।
- शान्ति–सुरक्षाको स्थिति मजबुत बनाउने,
- आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्ने,
- सबै पक्षको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुने वातावरण सुनिश्चित गर्ने,
- घटनाको छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने,
- घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउने।
आयोगका प्रवक्ता एवम् सहसचिव डा. टीकाराम पोखरेलले संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्न सबै पक्षलाई सहयोग गर्नसमेत आग्रह गर्नु भएको छ ।
