पोखरा । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद तथा धार्मिक स्वतन्त्रताको मूल मन्त्रसहित नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पार्टीको १५औँ महाधिवेशन मङ्सिर मसान्तभित्रै सम्पन्न गर्न केन्द्रीय समितिलाई औपचारिक रूपमा प्रस्ताव गरेको छ ।
२०८२ मङ्सिर २ गते पोखरामा क्रियाशील नागरिक समाजका अगुवासँगको भेटमा प्रदेश सभापति शुक्रराज शर्माले सङ्गठन सुदृढीकरण तथा प्रजातन्त्रको भविष्य उज्ज्वल बनाउन यही मूल मूल्यबाट अघि बढ्ने अठोट प्रदेश कांग्रेसले व्यक्त गरेको बताउनु भयो ।
प्रदेशस्तरिय भेलाबाट पारित प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाइएको समेत उहाँले जानकारी दिनु भयो ।
सभापति शर्माका अनुसार नियमित महाधिवेशन तोकिएकै समयमा हुन नसकेको अवस्थामा विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमार्फत विशेष महाधिवेशन मङ्सिरकै अन्त्यभित्र गर्नुपर्ने माग राखिएको छ ।
प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछानेले स्थानीय तहदेखि केन्द्रीय कार्यसमितिसम्म पदावधि समाप्त हुँदै गएको संवेदनशील घडीमा नियमित वा विशेष महाधिवेशनबारे चर्को बहस हुनु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।
करिब एक महिनादेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्न नसक्दा कार्यकर्तामा निराशा बढेको उहाँको भनाइ छ ।
भेलाले विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अल्मलिन नहुने र स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताको आदर्शमा आधारित भएर पार्टी सञ्चालन गरी जनतामाझ विश्वसनीय विकल्पका रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएको छ ।
देश, प्रजातन्त्र र पार्टीको संरक्षणको जिम्मेवारी कांग्रेसकै काँधमा रहेको उल्लेख गर्दै पार्टीले आफ्ना गल्ती कमजोरी आत्मालोचनासहित सुधार गर्नुपर्ने माग उठेको छ ।
महामन्त्री लामिछानेका अनुसार भेलाले देशको वर्तमान परिस्थिति र कांग्रेसको महाधिवेशनसम्बन्धी गरी ६ वटा प्रस्ताव पारित गरेको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्यहरूमाथि भएको आक्रमण, पार्टी कार्यालय र कार्यकर्ताका निवासमा भएको आगजनीको भेलाले घोर भर्त्सना गरेको छ ।
भेलाले कांग्रेस कठिन मोडमा रहेको स्वीकार गर्दै अब जनतामाझ जान पार्टीले आफ्नो चरित्र, आचरण र व्यवहारमा आमूल सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
विगतका कमजोरी दोहोर्याइने छैन भन्ने प्रतिबद्धतासहित पार्टीलाई जनचाहनाअनुसार सञ्चालन गरिने प्रदेश नेतृत्वले स्पष्ट गरेको छ ।
पोखरामा आयोजित भेटघाट तथा छलफलका क्रममा क्रियाशील अधिकारकर्मी नागरिक मञ्च गण्डकीका संयोजक तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बराल, सदस्य खेम पौडेल, शान्तिका लागि नागरिक समाज सञ्जाल पोखराकी विना शिलवाल, मानवअधिकार एलाइन्स कास्कीका अध्यक्ष मधु पन्थी, इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारी तथा एकल महिला समूह कास्कीकी अध्यक्ष जुना केसीले सामाजिक न्याय र सुशासनका पक्षमा नागरिक समाजले निरन्तर बहस, पैरवी र पहलकदमी गर्दै आएको बताउनु भएको छ ।
वक्ताहरूले पोखराको नागरिक समाजले विगतदेखि नै लोकतान्त्रिक अभ्यास, अधिकार सुनिश्चितता तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै ‘जेनजी आन्दोलन’ पछि उत्पन्न प्रभाव र शान्ति–सुरक्षाको वर्तमान अवस्थाले आम नागरिकमा फैलिएको निराशालाई आशामा रूपान्तरण गर्न निरन्तर पहल आवश्यक रहेकोमा ध्यानाकर्षण गराएका थिए ।