ललितपुर । राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई प्रहरीले गरेको मध्यरातको पक्राउबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्दै अभिव्यक्ति स्वतन्त्रता संवेदनशील विषय भएको बताएको छ ।
आयोगको अनुगमन टोली २०८२ मङ्सिर २ गते जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर प्रसाईँको अवस्था तथा पक्राउ प्रक्रियाबारे विवरण लिएको हो ।
आयोगका अनुसार प्रसाईँलाई मङ्सिर १ गते राति १२:३० बजे भक्तपुरस्थित सानोठिमीको घरबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको छ ।
प्रहरी प्रतिवेदनमा प्रसाईँलाई सार्वजनिक शान्ति–सुरक्षाविरुद्धको गतिविधि सम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ ।
पक्राउ तथा थुनुवा पूर्जी प्रदान गरिएको र प्रसाईँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आयोगलाई प्राप्त भएको आयोगले जनाएको छ ।
चुनाव घोषणा भइसकेको अवस्थामा देशभरि सुरक्षा संवेदनशील बन्दै गएको उल्लेख गर्दै आयोगले सरकारलाई जिम्मेवार र आवश्यकताअनुसार मात्र शक्ति प्रयोग गर्न भनेको छ ।
आयोगका प्रवक्ता/सहसचिव डा. टीकाराम पोखरेलले नागरिकको विचार र अभिव्यक्तिको कारण मात्र कसैलाई नियन्त्रणमा लिनु मानव अधिकारको मर्मविपरीत हुने टिप्पणी गर्नु भएको छ ।
“शान्ति सुरक्षा कायम राख्नु राज्यको दायित्व हो, तर अभिव्यक्ति स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक प्रणालीको आधारभूत मूल्य हो । त्यसैले सरकारले कुनै पनि कार्यवाही गर्नुअघि संवैधानिक अधिकारको सम्मान गर्नुपर्छ ।”-विज्ञप्तिमा भनिएको छ ।
आयोगले राजनीतिक दल, अभियन्ता तथा सर्वसाधारणलाई पनि शान्ति–सुरक्षा प्रभावित हुने प्रकारका अभिव्यक्ति वा गतिविधिबाट टाढा रहन आग्रह गरेको छ ।
